खानेतेल उत्पादन गर्ने उद्योगमा प्रशासनको छापा

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते २:१० मा प्रकाशित

भैरहवा, ६ कात्तिक । खानेतेलका ब्रान्डमा मिसावट भएको उपभोक्ताले गुनासो गरेपछि ती तेल उत्पादन गर्ने उद्योगमा प्रशासनले छापा मारेको छ । सुनकोसी, निर्मल, अङ्कुर, बैलकोल्हु र रौनक ब्रान्डका तेल उद्योगमा जिल्ला बजार अनुगमन समिति रुपन्देहीले मङ्गलबार छापा मारेको हो । अङ्कुर ब्रान्डको तेलमा अखाद्य पदार्थ मिसिएको भन्दै उपभोक्ताले तेलसहित जिल्ला प्रशासनमा उजुरी दिएपछि जिल्ला बजार अनुगमन समितिले तेल उद्योगमा छापा मारेको हो ।

दुर्गा मोडर्न आयल मिल, रौनक आधुनिक तेल उद्योग र गोविन्द आयल इन्डस्ट्रिज पडसरीमा छापा मारेको अनुगमन समितिका सदस्यसचिव एवम् वाणिज्य कार्यालय भैरहवाका निमित्त प्रमुख मुक्तिप्रसाद पाण्डेले बताए । छापा मारिएका उद्योगबाट समितिले नमुनाका लागि चार–चार पोका आधा लिटरको तेल लिएको छ । ती तेलका पोकालाई केन्द्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय काठमाडौँ र क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा पठाइने समितिका सदस्य तथा क्षेत्रीय खाद्य प्रविधि कार्यालयका खाद्य अधिकृत श्रवण ढुङ्गानाले जानकारी दिए ।

परीक्षणमा अखाद्य पदार्थ मिसिएको प्रमाणित भएमा त्यस्ता उद्योगलाई कालो बजारी ऐनअनुसार कारबाही गरिने समितिले जनाएको छ । सो ऐनअनुसार दोषी प्रमाणित भएमा उद्योग सञ्चालक र व्यवस्थापकलाई तत्काल पक्रेर पाँच वर्षसम्म कैद र बिगो अनुसारको कारबाही गर्न सक्ने प्रावधान रहेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवामा रहेको कस्तुरी मिष्ठान्न भण्डारमा तालाबन्दी गरेको छ । उक्त भण्डारमा दुषित खानेकुरा भेटिएपछि अर्को आदेश नहँुदासम्म तालाबन्दी गरिएको जिल्ला अनुगमन टोलीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us