उब्जाउ जमिन दलदलमा परिणत,कृषक मर्कामा

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते ४:०१ मा प्रकाशित

कञ्चनपुर, ५ कात्तिक–कञ्चनपुरको दक्षिणी भेगमा पर्ने बेल्डाँडी गाविसमा नहरको पानी चुहिएर झन्डै एक हजार बिघा जमिन दलदलमा परिणत भएको छ । नहर निर्माणका क्रममा भएको प्राविधिक कमजोरीका कारण सो गाविसका वडा नम्बर ३, ४, ५ र ६ मा पर्ने नहर क्षेत्रमा अवस्थित ९ सय १२ बिघा खेतीयोग्य जमिन दलदलमा परिणत भएको हो  ।

महाकाली सिँचाइ परियोजना दोस्रो चरणअन्तर्गत निर्मित नहरको करिब १० किलोमिटर क्षेत्रमा पानी चुहिएर उक्त क्षेत्रकै अत्यधिक उब्जाउ मानिएको जमिन दलदलमा परिणत भएपछि चार वडाका ६ सय ४० कृषक परिवार मर्कामा परेका छन् । नहरको पानी चुहिएर वडा नम्बर ३ सिमलगढीमा २२७, वडा नम्बर ४ जब्दामा २१९, वडा नम्बर ५ चवन्नीमा २११ र वडा नम्बर ६ ढकनियामा २५५ बिघा जमिन दलदलमा परिणत भएको छ । जीविकोपार्जनका लागि पूर्ण रुपमा कृषिमा निर्भर रहेका उक्त क्षेत्रका कृषक यतिबेला मर्कामा परेका छन् ।

महाकाली सिँचाइ परियोजनाको दोस्रो चरणअन्तर्गत २०५७-०५८ मा नहर सञ्चालनमा आएको थियो ।

नहर बन्नुभन्दा पहिले उक्त क्षेत्रमा प्रतिबिघा जमिनमा १५ देखि २० क्विन्टल धान तथा त्यत्तिकै मात्रामा गहुँ उत्पादन हुने पीडित कृषकहरु बताउँछन् । नहरपीडित कृषक अक्कल विष्टले नहर सञ्चालन भएदेखि बेल्डाँडी क्षेत्रमा उत्पादनमा कमी आएको बताए । कृषक विष्टले नहरको पानी चुहिएका कारण उत्पादनमा कमी आउनाका साथै कृषक परिवार विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरे । ‘बेल्डाँडीको सबै जमिन जलमग्न भइसक्यो अब कहाँ खेती गर्ने ?’ उनले भने, ‘सरकारसँग पटकपटक नहरपीडित कृषकको समस्याबारे अवगत गराए पनि सुनुवाइ भएन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us