एक दर्जन कार्यालय प्रमुखविहीन

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते २:०५ मा प्रकाशित

ओखलढुंगा, ५ कात्तिक–दशैं मान्न गएका ओखलढुंगाका कतिपय कार्यालय प्रमुखहरु कार्यालय नफर्कंदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालय खुलेको पाँच दिन बितिसक्दा पनि दर्जनभन्दा बढी सरकारी कार्यालयका प्रमुख र कर्मचारी अझै कार्यालयमा हाजिर भएका छैनन् ।

जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राविधिक, मालपोत, नापी, जिल्ला वन, विद्युत् प्राधिकरण, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भूसंरक्षण कार्यालय, जिल्ला विकास समितिका कार्यालय प्रमुख कार्यालय फर्किएका छैनन् । त्यस्तै कोष तथा लेखा नियन्त्रण कार्यालय, सहरी विकास तथा भवन निर्माण कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिमा पनि कार्यालय प्रमुख तथा कर्मचारीहरु नहुँदा सेवाग्राही मर्कामा परेका छन् । जनताको कामसँग प्रत्यक्ष जोडिएका कार्यालयका कर्मचारी नभएपछि समस्या भएको हो । कार्यालय प्रमुखहरु नहुँदा कार्यालयको दैनिक काम प्रभावित भएको छ ।

केही कार्यालय प्रमुखहरु काममा फर्के पनि अधिकांश कार्यालय निमित्तको भरमा चलेका छन् । कार्यालय प्रमुख र जिम्मेवार कर्मचारी नहुँदा दुर्गम गाउँबाट आएका सेवाग्राही सेवा नपाई रित्तो हात फर्कन बाध्य छन् ।निर्वाचन आयोगले कर्मचारीलाई जिल्ला नछोड्न निर्देशन दिए पनि कर्मचारी भने अझै जिल्लामा हाजिर भएका छैनन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कर्मचारीहरु कार्यालयमा आउने क्रममा रहेका बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us