
चितवन, ५ कात्तिक–पर्यटकीय नगरी सौराहामा पर्यटकको आगमन बढेसँगै टाँगा व्यवसायीले राम्रो अम्दानी लिन सफल भएका छन् । पूर्वी चितवनको सौराहा चोकदेखि सौराहासम्म टाँगा चलाउँदै आएका व्यवसायीहरुले पछिल्लो समयमा राम्रो आम्दानी हुन थालेको बताएका छन् ।
विगत १९ वर्षदेखि सौराहामा टाँगा चलाउँदै आएका सुन्दर लामिछानेले मासिक १५ हजारदेखि २० हजारसम्म आम्दानी हुने गरेको बताए । व्यवसायीले छ जनाको सिट रहेको टाँगामा विदेशी पर्यटकलाई १०० र नेपाली पर्यटकलाई ४० रुपैयाँ लिने गरेका छन् ।
नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटक प्रायः टाँगामा आवतजावत गर्न रुचाउँछन् ।
विगत सात वर्षदेखि टाँगा चलाउँदै आएका विवेककुमार चौधरी पनि आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउँछन् । घोडाको खानाका लागि दैनिक २५० रुपैयाँ खर्च लाग्ने भए पनि पर्यटकको आगमन बढेसँगै दैनिक एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
अहिले सौराहामा ३० वटा टाँगा सञ्चालनमा रहेका छन् । विगतमा पर्यटक आगमनमा कमी आउँदा यी व्यवसायी पलायनको अवस्थामा पुगेका थिए । कतिपय व्यवसाय छाडेर नयाँ पेसामा लागेका थिए ।