
काठमाण्डु, ५ कात्तिक–सरकारले यस वर्षको चालु सात महिनासम्म कुल १८ वटा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । विद्युत् विकास विभागले वैशाखको सुरुदेखि हालसम्म ती आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको विभागले जनाएको छ ।
विभागका अनुसार कुल १८ वटा आयोजनाबाट १८४.३५ मेगावाट विद्युत् उत्पादन हुनेछ । अनुमतिपत्र प्रदान गरिएका आयोजनाहरूमा माथिल्लो त्रिशुली ३ बी सबैभन्दा ठूलो आयोजना हो । सो आयोजनाबाट कुल ३७ मेगावाट विद्युत उत्पादन हुनेछ । नुवाकोटमा अवस्थित सो आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको हो । सो आयोजनाको लागत रु पाँच अर्ब ६० करोड रहेको छ । माथिल्लो सोलुखोला आयोजनाको क्षमता १८ मेगावाट रहेको छ । सोलुखुम्बु जिल्लामा रहेको सो आयोजना बेनी हाइड्रो पावर प्रोजेक्ट कम्पनीले निर्माण गर्न लागेको हो । त्यस्तै पाँचथरको काबेली बी आयोजनाको कुल २५ मेगावाट क्षमता रहेको छ ।
अनुमति पाएका अन्य आयोजनाहरूमा दरम खोला(२.५मेगावाट) बाग्लुङ, गेलुन खोला(३.२मेगावाट) सिन्धुपाल्चोक, माथिल्लो पुवा खोला एक(३ मेगावाट)इलाम, खानी खोला(३० मेगावाट) दोलखा, मध्य मोदी (१५.१ मेगावाट)पर्वत, सर्दी खोला(४मेगावाट) कास्की, माथिल्लो माई सि (६.१ मेगावाट), माथिल्लो खोराङ खोला(६.८ मेगावाट) तेह्रथुम, तल्लो हेवा (९.५ मेगावाट) पाँचथर, मध्य मिदिम (३.१ मेगावाट) लम्जुङ, माइ क्यासकेड (८ मेगावाट) इलाम, पराजुली खोला एक (२.५ मेगावाट) दैलेख, चण्डी खोला (१.७ मेगावाट) लम्जुङ, लोहार खोला (४.२ मेगावाट) दैलेख र पुवा खोला प्रथम (५ मेगावाट) रहेका छन् । रासस