झापामा निर्वाचनको लहर

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १५:०२ मा प्रकाशित

भद्रपुर–नयाँ संविधानको निर्माण, शान्तिसुरक्षा र विकास कार्यलाई प्रमुखता दिने वचनबद्धताका साथ संविधानसभाका उम्मेदवार चुनाव प्रचारप्रसारमा होमिएका छन् ।

तराईको सबैभन्दा पूर्वी जिल्ला झापामा संविधानसभाका उम्मेदवारले सो वचनबद्धता प्रकट गर्दै आम जनताको मतलाई आपूmतिर आकर्षित पार्नका लागि घरदैलोलगायतका कार्यक्रमका साथ प्रचारप्रचारमा होमिएका हुन् ।

यस कार्यका लागि राजनीतिक पार्टीहरुले प्रत्येक गाउँगाउँमा प्रचारप्रसार समिति गठन गर्ने  कार्यलाई निरन्तरता दिएका छन् । आम मतदातासमक्ष आ–आफ्ना पार्टीका घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता सम्बन्धमा जानकारी गराउनका लागि राजनीतिक दलले क्षेत्रीय, गाउँ र टोल–टोलमा सभाको आयोजना गरी जानकारी गराउन लागिपरेका छन् ।

निर्वाचनमा मतदातालाई आकर्षित पार्नका लागि कतिपय उम्मेदवारले मोटरसाइकल र्‍याली आयोजना गरेका छन् । कतिपयले आ–आफ्ना कार्यकर्ताको समूह बनाई पैदल यात्रा गरी मतदातालाई रिझाउने कार्यमा तल्लीन छन् ।

मुलुकको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका यो जिल्लाले राष्ट्र्यिस्तरका ख्यातिप्राप्त नेताहरु निरन्तर रुपमा जन्माएका कारण झापा तराईका अन्य जिल्लाको तुलनामा बढी विकसित, बढी शिक्षित र व्यवस्थित जिल्लाको रुपमा पहिचान कायम गरेको छ ।

यसप्रकारका पहिचानलाई कायम राखी जिल्लामा विकासका कार्यलाई निरन्तरता दिनुका साथै शान्तिसुरक्षा, बेरोजगारी समस्याको समाधानका र संविधान निर्माणको ग्यारेन्टी हुनुपर्ने लगायतका जिज्ञासा उम्मेदवारसमक्ष आममतदाताले राख्ने गरेका छन् ।

झापा जिल्लामा सातवटा निर्वाचन क्षेत्र रहेका छन् । तीन नगरपालिका र ४७ गाविस भएको यस जिल्लामा चार लाख ५४ हजार ४७६ मतदाता छन् ।  गाविस र नगरपालिकाको सङ्ख्यात्मक रुपले हेर्दा सबैभन्दा छोटो संसदीय क्षेत्रको रुपमा क्षेत्र नं १ र ७ देखिन्छ भने सबैभन्दा ठूलो क्षेत्रको रुपमा क्षेत्र नं ३ र ५ छन् । सातवटै निर्वाचन क्षेत्र गरी झापामा १७४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

जिल्लाको पूर्वोत्तर क्षेत्रका रुपमा रहेको क्षेत्र नं १ मा २१ जना उम्मेद्वार छन् । यस क्षेत्रमा मेचीनगरपालिकाका साथै बाहुनडाँगी, धाइजन र शान्तिनगर गाविस पर्दछ । सङ्ख्यात्मक रुपमा गाविस कम देखिए पनि मतदाताको सङ्ख्या यस क्षेत्रमा ६४ हजार ३०२ छन् । सोही अनुरुपमा क्षेत्र नं ७ मा ३० जना उम्मेदवार छन् । यस क्षेत्रमा दमक नगरपालिकासहित लखनपुर, तोपगाछी र धर्मपुर गाविस पर्दछ । यस क्षेत्रको मतदाताको सङ्ख्या सबैभन्दा बढी ७३ हजार ०२६ छन् ।

यसका साथै एक नगरपालिका र नौ गाविसमा ५९ हजार ४८३ जना मतदाता भएका क्षेत्र नं ३ मा २२ जना उम्मेद्वार छन् ।  दश गाविस भएका क्षेत्र नं ५ मा ७० हजार ७१५ मतदाता छन् भने २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सात गाविस भएका क्षेत्र नं २ मा ६४ हजार ८७७ मतदाता छन् भने २९ जना उम्मेदवार चुनावी दौडमा छन् । ६ गाविस भएका क्षेत्र नं ४ मा ७२ हजार ३८६ मतदाता छन् र २२ जना उम्मेदवार निर्वाचनको परीक्षामा सहभागी छन् । नौ गाविस भएका क्षेत्र नं ६ मा सबैभन्दा कम ४९ हजार ६८७ मतदाता छन् भने सभासद् बन्ने उद्देश्यले २३ जना उम्मेद्वार बनेका छन् ।
झापा जिल्लाको भित्री भागमा पनि कालोपत्रे सडक पुगेको छ । यसबाहेक गाउँगाउँमा ग्राभेल सडक छन् । निर्वाचनको प्रचारप्रसार गर्नका लागि उम्मेदवारलाई निकै नै सहज भएको छ भने सुरक्षाको पहुँच पु¥याउनमा पनि स्थानीय प्रशासनलाई सक्षमताका साथ तयारी गरेका छन् । जिल्लाका विभिन्न गाविसहरुमा शान्तिपूर्ण ढङ्गले निर्वाचनको प्रचारप्रसार भइरहेको देखिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us