निर्वाचन सुरक्षा प्रवन्धबारे विदेशीको चासो

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले नेपालमा ४ मंसिरमा हुन गइरहेको संविधानसभा निर्वाचनको सुरक्षा प्रवन्धबारे निर्वाचन आयोगका अधिकारीसाग जिज्ञाशा राखेका छन् ।
election_commissionआयोगले  निर्वाचनको तयारी तथा पर्यवेक्षणबारे जानकारी गराउन राजधानीमा गरेको एक कार्यक्रममा उनीहरुले सुरक्षा प्रवन्धबारे आश्वस्त हुन चाहेका हुन् ।

उनीहरुले मततादा परिचयपत्र वितरणमा भइरहेको ढिलाइका बारेमा समेत निर्वाचन आयोगका अधिकारीहरुसँग जिज्ञाशा राखेका थिए । उनीहरुले निर्वाचनमा सहयोग गर्न आफूहरु तयार रहेको भन्दै निर्वाचन पर्यवेक्षणका लागि उयपुक्त वातावरण बनाइदिन आग्रह गरे ।
जवाफमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोगले सरकार र सुरक्षा निकायको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाएको बताएका थिए ।

उनले एकीकृत सुरक्षा प्रणालीअन्तर्गत निर्वाचन सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार म्यादी प्रहरी परिचालन गरिएकाले सुरक्षाको चिन्ता नभएको दाबी गरे । उप्रतीले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए ।

निर्वाचन सफल पार्ने कामका अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको भन्दै उप्रेतीले निर्वाचनको स्वच्छताका विषयमा पर्यवेक्षण गर्न पनि आग्रह गरे । उनले मतदान स्वच्छ र निष्पक्ष बनाउनकै लागि मतदाता परिचयपत्रको व्यवस्था गर्न लागिएको जानकारी गराए ।
उप्रेतीले अधिकांश दूतावासका प्रतिनिधिलाई अनुकुल क्षेत्रमा निर्वाचन आयोगको समन्यवमा निर्वाचन पर्यवेक्षणको व्यवस्था मिलाउन लागिएको जानकारी गराए ।

उनका अनुसार एसियाका सबै मुलुकका निर्वाचन आयोगका प्रमुखलाई निर्वाचन पर्यवेक्षणका लागि आमन्त्रण गरिसकिएको छ । जसमध्ये चीन, भारत र जापानबाट निर्वाचन सुपरीवेक्षणका लागि प्रतिनिधि पठाउन तयार रहेको जवाफ आइसकेको जानकारी उप्रेतीले दिए ।

कार्यक्रममा निर्वाचन तयारीमा भइरहेका काम तथा आचारसंहिताबारे पनि राजदूतहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा करिब एक दर्जन देशका नेपालस्थित राजदूत र दूतावासका प्रतिनिधि गरी ६० कुटनीतिज्ञको सहभागिता थियो ।कार्यक्रममा सहभागी हुन नेपालस्थित सबै दूतावसलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

भारत,चीन र अमेरिकी राजदुत अनुपस्थित
कार्यक्रममा दक्षिणी छिमेकी भारत,चीन र शक्ति राष्ट्र अमेरिकाका राजदुत भने सहभागी भएनन । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता गरेका नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडे निर्वाचन आयोगले बोलाएको कार्यक्रममा सहभागी भएनन । भेटका अवसरमा संयुक्त राष्ट्र सङ्घको महासभामा नेपालको सहभागिता, अनुभव र उपलब्धिका विषयका साथै संविधानसभा निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
अध्यक्ष रेग्मीसँग सोमबार नै पोल्यान्डका गैरआवासीय राजदूत प्रोपिओर क्लोदकोवास्कीले शिष्टाचार भेट गरेका थिए । सो अवसरमा दुई देशबीचको सम्बन्ध, नेपालको विकासमा पोल्यान्डले पु¥याउँदै आएको सहयोगका विषयमा छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us