बारामा प्रहरी र म्यादी प्रहरीबीच भिडन्त

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ११:२६ मा प्रकाशित

बारा, ४ कात्तिक– बाराको कलैयामा नेपाल प्रहरी र संविधानसभा निर्वाचन सुरक्षार्थ अस्थायी भर्ती गरिएका म्यादी प्रहरीबीच झडप भएको छ ।
झडपमा दुवैतर्फका गरी आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । सेवा सुविधा कम भएकाले बढाउन माग गर्दै प्रदर्शनमा उत्रिएका म्यादी प्रहरीमाथि प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।

दुई महिनाको तलब दिने आश्वासन दिइए पनि डेढ महिनाको मात्र उपलब्ध गराउन लागिएको भन्दै म्यादीले कलैयास्थित जिल्ला प्रशासन कार्यालय बारा अगाडि नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ठाकुर ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा ढुंगामुढा गरेका कारण उनीहरुलाई लाडी चार्ज गरेर तितरवितर पारिएको जानकारी दिए ।

संविधानसभा निर्वाचन सुरक्षार्थ जिल्लामा  एक हजार ३ सय ६० म्यादी प्रहरी भर्ती गरिएको छ । यसैबीच प्रहरीले प्रदशनकारी म्यादी प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us