सेना परिचालनले दीर्घकालीन द्वन्द्व बढाउने दाबी

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– राजधानीमा भएको एक कार्यक्रममा वक्ताहरुले निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने सरकारी कदमले मुलुकमा द्वन्द्व निम्त्याउने बताएका छन् ।

Nepal-Army_20100923082843सैन्यविद् इन्द्रजित राईले संविधानसभा निर्वाचनमा गरिएको सेना परिचालनले दीर्घकालीन रुपमा द्वन्द्व निम्त्याउने बताए । विद्यमान ऐन कानुन तथा अन्तरिम संविधान–२०६२ को मर्म र भावनाविपरीत सेना परिचालन गरिएको उनको भनाइ छ ।

राईले परिचालित सेना कहिले व्यारेक फर्कन्छ भन्ने अन्यौलताका कारण मुलुकमा सैन्यवादको खतरा बढाएको जिकिर गरे । उनले साउथ ब्लकको निर्देशनमा मुख्य चार दल र सरकारले सेना परिचलान गरेको आरोप लगाए ।
द्वन्द्वविद् विष्णुराज उप्रेतीले सेना परिचालनले सैनिकीकरणको चिन्तन विकास भइरहेको बताए । ‘जसरी पनि चुनाव भन्ने र जसरी पनि बहिस्कार भन्ने शब्दले सेना परिचालन भएको देखिएपनि आमजनताले असुरक्षित महसुस गरेका छन्’, उप्रेतीले भने ।
नेपाली सेनाका पूर्वउपरथी अनन्तबहादुर थेवेले  भने सेना परिचालन नागरिक प्रशासनलाई सहयोग गर्न र राष्ट्रिय स्वार्थका हितमा काम गर्न भएको उल्लेख गरे ।

उनले नेपाली सेनामाथि अनावश्यक आशंका नगर्न आग्रह गरे । द्वन्द्व निम्तिने वा ननिम्तिने भन्ने विषय मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको व्यवहारमा निर्भर गर्ने थेवेको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us