
म्याग्दी, ४ कात्तिक । संविधानसभा निर्वाचनका लागि नेकपा एमालेले तयार पारेको प्रचारप्रसार सामग्री तोडफोड भएको छ ।
आज बिहान भगवतीको आमसभाका लागि भरिया लगाएर लैजाँदै गरिएको प्रचार सामग्री पिप्लेमा तोडफोड भएको हो । तोडफोडमा संलग्नता कसको थियो भन्ने आधिकारिक पुष्टि भने भइसकेको छैन । एक समूहले तोडफोड गरेको उल्लेख गर्दै एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले चुनाव बहिष्कारको पक्षमा रहेको नेकपा–माओवादीले तोडफोड गरेको दाबी गरेका छन् । नेकपा–माओवादीका जिल्ला सह–इन्चार्ज लालु किसानको नेतृत्वमा तोडफोड भएको उनको जिकिर छ ।
उता माओवादी सहइन्चार्ज किसानले भने एमाले सचिव सुवेदीको उक्त आरोप सही नभएको बताएका छन् । घटनामा आफ्नो संलग्नता नरहेको भन्दै किसानले निर्वाचन बहिष्कारको नीतिअनुसार आफ्ना स्थानीय कार्यकर्ताले भने तोडफोड गरेको हुन सक्ने बताएका छन् ।
तोडफोडबाट दुई थान माइक फुटेको छ । साथै अन्य प्रचार सामग्रीमा पनि क्षति पुगेको एमालेले जनाएको छ ।
घटनाका बारेमा छानविन गर्नका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । निर्वाचन सामग्री तोडफोड भएता पनि एमालेको आमसभा भने भइरहेको छ । रासस