
झापा, ४ कात्तिक– एकीकृत माओवादी नेता गोपाल किरातीले एमाले नेता केपी ओलीले नेपाली व्याकरण बिगारेको आरोप लगाएका छन् ।
क्षेत्रीय निर्वाचन परिचालन कमिटीले झापाको दमकमा सोमबार गरेको पत्रकार भेटघाटमा किरातीले उखान र टुक्का हालेर ओलीले नेपाली भाषाको व्याकरण बिगारेको बताए ।
किराती र ओली दुवै संविधानसभा निर्वाचनमा झापा–७ का उम्मेदवार हुन् । ओलीले भए/नभएका उखान टुक्का जोडेर अराजनीतिक गालीगलौज गर्ने गरेको आरोप लगाए । उनले संविधानसभा निर्वाचनमा संघीयता पक्षधर र संघीयताविरोधीबीच प्रतिस्पर्धा हुने उल्लेख गरे ।
निर्वाचनमा संघीयता पक्षधरले जित्ने र तोकिएकै समयमा पहिचानसहितको संघीयता सुनिश्चित गर्ने गरी संविधान जारी गर्ने प्रचिबद्धता किरातीले जनाए । अर्को एक प्रसंगमा उनले आफू झापा तोपगाछीको बासिन्दा भएको बताए ।
सुनसरी–२ बाट चुनाव लड्ने तयारी गरेका किराती अन्तिम समयमा ओलीसँग भिड्ने भन्दै झापा–७ मा गएका हुन् ।