चुनाव प्रचारमा भारतीय गाडीको अवैध प्रयोग

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ४:४६ मा प्रकाशित

Indian-gadiसिन्धुली, ४ कात्तिक–नेकपा एमाले सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उमादेवी कोईरालाले चुनाव प्रचारकालागि जिल्ला निर्बाचन कार्यालयको अनुमति विना भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेकी छन् । नेपालको तराई क्षेत्रमा विभिन्नखाले हिंसात्मक घटनामा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग भएको भन्दै सरकारले भारतीय नम्बर प्लेटका गाडी नेपाल प्रवेशमा कडाई गरिरहेकोबेला कोईरालाले भने निर्वाधरुपमा भारतीय गाडी प्रयोग गरेकी छन् ।

निर्वाचन आचार संहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उमेद्वारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ । निर्वाचन आचारसंहिता विपरित उमेदवार कोईरालाले विआर १ एपी ०५४२ नम्बरको गाडी प्रयोग गरेकी छन् ।

भारतीय नम्बरका गाडीहरु यातायात व्यवस्था विभागमा अस्थायी दर्ता गरी हरियो प्लेटमा नेपाली नम्बर राखेर मात्र प्रयोग गर्न पाइन्छ । भारतीय नम्बर प्लेटका हल्का सवारी साधन दैनिक भन्सार तिरेर नेपाल प्रवेश गर्न पाउने र अधिकतम ८१० दिनमात्र बस्न पाउने प्रावधान छ ।

निर्वाचन अधिकृतको कार्यालयले कोइरालालाई आवश्यक प्रकृया पूरा गरेर मात्रै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्न सचेत गराइसकेको निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत मनोजकुमार बस्नेतले जानकारी दिए ।

कोइरालाले भने जनकपुरमा आफ्ना पार्टीका उम्मेदवारहरुले पनि भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्दै आएकोले आफूले पनि प्रयोग गरेको बताइन् । एमले केन्द्रीय सदस्य तथा जनकपुर अञ्चल संयोजक केशव देवकोटाले पनि भारतीय नम्बर बीआर–३२ ई–९८३१ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् ।
सिन्धुली क्षेत्र नं. २ मा एमाओवादीले दुई ओटा र एमालेले एउटा निर्वाचन प्रयोजनको लागि हल्का सवारी साधन अनुमति लिनको लागि निवेदन दिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भारतीय नम्बरका गाडी सस्तो हुने भएकाले निर्बाचनको प्रचार प्रसारमा भारतीय नम्बर प्लेटका गाडी भाडामा प्रयोग हुने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us