बाटो नै नभएको ठाउँमा मर्मत योजना

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ३:५८ मा प्रकाशित

पर्वत, ४ कात्तिक– पर्वत जिल्लाका सबै सडकमा गाडी गुडाउने योजनाअनुसार चालु अवस्थामा रहेका सडकको मर्मत गर्न लागिए पनि ट्र्याकसमेत नखोलिएको सडकसमेत मर्मतमा परेको छ । जिल्ला विकास समितिले आकस्मिक मर्मत कोषअन्तर्गत जिल्लाका ‘क’ वर्गका ३२ वटा सडक र ‘ख’ वर्गका ३८ वटा सडकको मर्मत गर्न रु ७४ लाख खर्च गरिने भए पनि कतिपय सडकको ट्र्याक नै खोलिएको छैन ।

जिल्ला विकास समितिले आफँैले सडकको मर्मत गर्दा स्तरीकरणको आधारमा गर्ने योजना बनाएर जिल्ला परिषदबाट समेत पारित गरेको भए पनि स्थानीय विकास अधिकारीले त्यसको उल्लङ्घन गरेका छन् । सदरमुकामको छेवैमा रहेको कुस्मा झाप्रेबगर अलपेश्वर सडकखण्डको ट्र्याक नखोलिएको भए पनि आकस्मिक मर्मतमा पर्नुले अनियमितताको पुष्टि गरेको जिल्ला विकास स्रोतले जनाएको छ । त्यसैगरी कुस्मा–मोदीबेनी–मुडिकुवा, दुर्लुङको नाम नै नभएको एक सडक तथा दक्षिणी भेगमा समेत तीनवटा सडकको ट्र्याक नै नखोलिएको पाइएको जिल्ला विकास स्रोतले जनाएको छ । जसमध्ये अलपेश्वर–झाप्रेबगर सडकखण्ड मर्मतका लागि २८ हजार, मुडिकुवा–कुस्मा सडकखण्डका लागि १६ हजार ९०० रुपैयाँ खर्च भए पनि ती सडकको ट्र्याकसमेत नखोलिएको पाइएको छ ।

कतिपय ठाउँमा ठेकेदारहरुले एक घन्टा डोजर चलाएर लाखौं दुरुपयोग गरेको र त्यसमा प्राविधिक र स्थानीय विकास अधिकारीले ४० प्रतिशत रकम पहिलो किस्तावापत भुक्तानी दिन सिफारिस गरेको पाइएको छ । आर्थिक प्रशासन नियमावलीले समेत ३० प्रतिशतभन्दा बढी रकम दिन नमिल्ने भए पनि ४० प्रतिशत भुक्तानी दिनु र अनुगमनसमेत नहुनुले चुनावको बेलामा आचारसंहिताको समेत उल्लङ्घन भएको पाइएको छ । कतिपय मोटरबाटो मर्मतको नाममा डोजर हिँडाएरमात्रै पनि रकम भुक्तानी दिइएको छ भने केही बाटोमा डोजरसमेत नगएको भए पनि भुक्तानी दिएपछि ठेकेदारसमेत असन्तुष्ट भएका छन् ।

जिल्ला विकास समितिले वार्षिक रुपमा खर्च गर्ने रकममा यसरी अनियमितता हुनु अपारदर्शिता बढ्दै जानु स्थानीय निकाय र त्यहाँ कार्यरत कर्मचारीहरु जिम्मेवार नहुनु नागरिक सञ्जाल पर्वतका अध्यक्ष किशोर सापकोटाले प्रतिक्रिया दिए । सडक मर्मतको नाममा रकम दुरुपयोग भएको र त्यसबारेमा सञ्चारमाध्यममा समेत समाचार आउँदा प्रशासनले समेत कारबाही नगर्नु सडकमा मिलेमतोको शङ्का भएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us