पाँचौं सरसफाइ सम्मेलन आज

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १:५५ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– दक्षिण एसियाली राष्ट्रहरुको पाँचौं सरसफाइ सम्मेलन सोमबार भक्तपुरमा शुरु हुँदैछ । भक्तपुर दरबारक्षेत्रमा राष्ट्रपति रामवरण यादवले सम्मेलन उदघाटन गर्नुहुनेछ । सो अवसरमा भक्तपुर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा पनि गरिने छ ।

शहरी विकास मन्त्रालयले आयोजना गरेको सम्मेलनमा दक्षिण एसियाका आठ राष्ट्रका झण्डै चार सय प्रतिनिधि सहभागी हुनेछन् । कात्तिक सात गतेसम्म हुने सम्मेलनमा आठै राष्ट्रका विभागीय मन्त्रीहरुको सहभागीता रहने छ ।

सरसफाइमा दक्षिण एसियाको गति बढाउने र राजनीतिक प्रतिबद्धता जनाउने उद्देश्य सम्मेलनले लिएको छ । सम्मेलनबाट सरसफाइ क्षेत्रका समस्या खोजी गरी समाधान गर्ने र सम्भावनाहरुको पहिचान गर्दै रणनीति तयार पारी प्रतिबद्धता सहितको घोषणापत्र जारी गरिने शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले जानकारी दिए ।

सन् २००३ मा बंगलादेशमा पहिलोपटक सरसफाइ सम्मेलन हरेक दुई बर्षमा सदस्य राष्ट्रहरुले आलोपालो आयोजना गर्दै आएका छन् । सन् २०१७ सम्म सबै घरधुरीमा आधारभूत सेवा अर्थात् चर्पीको पहुँच पुर्याउने लक्ष्य नेपालले लिएको छ । सन् १९८० र सन् १९९० मा क्रमशः २ र ६ प्रतिशत सरसफाइको पहुँच भएको नेपालमा पछिल्लो जनगणनाले यसको पहुँच ६२ प्रतिशत पुगेको तथ्य इङ्गित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us