
काठमाण्डु, ३ कात्तिक– गैरआवासीय नेपाली संघ एनआरएनको भावी नेतृत्वका लागि शेष घले र तेन्जी शेर्पाबीच प्रतिस्पर्धा भएको छ ।
रामप्रताप थापा, रामेश्वर शाह र हितमान गुरुङले उम्मेदवारी फिर्ता लिएपछि घले र शेर्पाबीच अध्यक्ष पदमा प्रतिस्पर्धा भएको हो । संस्थापक मध्येका एक शेर्पा यसअघि एनआरएनका महासचिव थिए ।
घले भने पछि मात्र एनआरएन अभियानमा लागेका हुन् । उम्मेदवारी फिर्ता लिएका तीनै जनाले आफूले सहमति निर्माणका लागि त्याग गरेको बताएका छन् । काठमाण्डुको होटल सोल्टीमा जारी अधिवेशनमा अहिले मतदान भइरहेको छ ।
सहमतिका लागि गरिएको प्रयास सफल हुन नसकेपछि एनआरएन इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि मतदान भएको हो । सर्वसम्मतिको प्रयासका लागि भन्दै दिउँसो १ बजेबाट सुरु हुने भनिएको निर्वाचन कार्यक्रम निर्धारित समयभन्दा ६ घण्टापछि मात्र सुरु भएको थियो ।
अध्यक्ष जीवा लामिछानेले सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन प्रक्रियामार्फत नेतृत्व चुन्न लागिएको जानकारी दिए ।
एनआरएन अधिवेशनमा दलहरु हाबी
यसैबीच एनआरएन अधिवेशनमा नेपालका राजनीतिक दलहरु हावी भएको सहभागीहरुले बताएका छन् । दलका नेताहरुले एनआरएनमा आफू अनुकुलको नेतृत्व ल्याउन प्रयास गरेका छन् ।
एकीकृत माओवादी र काँग्रेसले घलेलाई र एमालेले शेर्पालाई समर्थएन गरेको छ । त्यही अनुसार ती दलका विदेशस्थित भातृ संगठनहरु पनि विभाजित देखिएका छन् ।