
काठमाण्डु, ३ कात्तिक– संविधानसभा निर्वाचन नजिकिएसँगै मुलुकमा सुरक्षा चुनौती बढिरहेका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख विदेश भ्रमणमा निस्किएका छन् ।
सरकारले चुनावी सुरक्षाका लागि एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना परिचालन गर्नै लाग्दा प्रहरी महानिरीक्षक कुवेरसिंह राना र सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त शनिबार राति कोलम्बिया प्रस्थान गरेका हुन् ।
उनीहरु कोलम्बियाको कार्टागेनामा हुने इन्टरपोलको ८२ औं महासभामा भाग लिन त्यसतर्फ गएका हुन् । नेपाल प्रहरी इन्टरपोलको सदस्य हो । महासभामा इन्टरपोलका १ सय ९० सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुनेछन् ।
महासभा कात्तिक ४ देखि ७ गतेसम्म चल्ने छ । महासभामा लागूऔषध तथा हतियारको अवैध कारोबार, नक्कली औषधीको बढ्दो कारोबार, मानव ओसारपसारजस्ता विषयमा छलफल हुने बताइएको छ ।
महासभामा नेपाल प्रहरीले अन्तर देशीय, वित्तीय र साइबर क्राइम लगायतका एजेण्डा उठाउने भएको छ । महासभाले कार्यकारी समितिको निर्वाचनसमेत गर्नेछ ।
इन्टरपोल सदस्य संगठनका हैसियतमा रानाले मतदान गर्नेछन् । महासभामा सशस्त्र प्रमुख वन्त भने पर्यवेक्षक सदस्य हुन् ।