बहिस्कारमा ज्ञानेन्द्र शाह–मोहन बैद्य सहकार्य !

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ६:०६ मा प्रकाशित

काठमाण्डु ३ कात्तिक–पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य वीच आगामी मंसिर ४ गते हुने संबिधानसभाको दोस्रो निर्वाचन बहिस्कार गर्ने बारेमा छलफल भएको त सार्वजनिक भएको छैन तर निर्वाचनमा मतदान नगर्ने दुवैको बिचार भने मिलेको छ ।Gyanendra Mohan Baidhya
बैद्यले सशक्त र सक्रिय रुपमा निर्वाचन बहिस्कार गर्ने नीति लिए पनि ज्ञानेन्द्र शाहले भने मौन बसेर निर्वाचन बहिस्कार गर्न लागेका छन । पहिलो संबिधानसभा निर्वाचनपछिको पहिलो बैठकले २४० बर्षको राजतन्त्रलाई हटाएर नारायणहिटी राजदरवारबाट नागार्जुन दरवारमा खुम्चिन पुगेका ज्ञानेन्द्र शाहले दोस्रो संबिधानसभा निर्वाचनमा मतदान नगर्ने मनस्थिति बनाएका छन । शाह निकट स्रोत उदृत गर्दै नयाँ पत्रिका दैनिकमा आइतवार भुवन शर्माले लेखेका छन ‘काठमाण्डु–५ मा मतदाता सूचीमा नाम भएका पूर्व राजाले अहिलेसम्म निर्वाचनमा मतदान गर्ने सोचाइ भने बनाएका छैनन् ।’ काठमाण्डु–५ मा पर्ने काठमाण्डु महानगरपालिका वडा नम्बर ३ मा ज्ञानेन्द्र शाहका साथै धिरेन्द्र शाहका तीन छोरी दिलासा,पूजा र सिताष्माले पनि मतदाता नामावलीमा नाम लेखाएका छन ।
काठमाण्डु–५ मा राप्रपा नेपालले राजाराम श्रेष्ठ,एकीकृत माओवादीले महेन्द्र श्रेष्ठ,नेपाली काँग्रेसले नरहरी आचार्य र एमालेले इश्वर पोखरेललाई उम्मेदवार बनाएका छन । अरुले त पूर्व राजा ज्ञानेन्द्रको मत पाउने आशा गरेका थिएनन नै तर पूर्व राजा ज्ञानेन्द्र शाहले सत्ता आफनो हातमा लिएका वेला काठमाण्डु महानगरपालिकाका मेयर बनेका राजाराम श्रेष्ठले भने ज्ञानेन्द्र र उनको परिवारको मत पाउने आशा राखेका थिए । स्रोतका अनुसार ज्ञानेन्द्र निकटमा रहेका काँग्रेस र एमाले भित्र रहेकाहरु संबिधानसभा निर्वाचनको पक्षमा छैनन । स्रोतले भन्यो ‘उनीहरु खुलेर निर्वाचनको बिरोध गर्दैनन तर उनीहरु निर्वाचनको पक्षमा पनि छैनन ।’
ज्ञानेन्द्रलाई राष्ट्रवादी शक्तिको संज्ञा दिएर बैद्य र उनी निकटका नेताहरुले सहकार्यको प्रस्ताव गरिरहेका छन भने राजसंस्थालाई पुननस्र्थापना गराउन चाहने राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि बैद्यलाई निर्वाचन प्रक्रिया बाहिर राख्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन । त्यसैगरी भ्रष्टाचारमा दोषी ठहर भएका काँग्रेस नेता खुमबहादुर खडकाले जेलबाट छुटने बित्तिकै पनि बैद्यलाई निर्वाचन प्रक्रिया बाहिर राखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन ।
आफूहरुले संबिधानसभा निर्वाचनमा सहभागी हुन चाहे पनि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफूहरुलाई निर्वाचनमा सहभागी हुनबाट रोकेको आरोप बैद्यले लगाउन थालेका छन । बैद्यले संबिधानसभा निर्वाचन बिथोल्न उम्मेदवारहरुलाई गाउँ प्रवेशमा रोक लगाउने,उच्चस्तरिय राजनीतिक समितिका शिर्ष नेताहरु पुगेका जिल्ला बन्द गराउने कार्यक्रम सञ्चालन गरिरहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us