३५ जिल्लाका एक सय १५ क्षेत्रमा आयोगको विशेष कार्यक्रम

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ५:५८ मा प्रकाशित

काठमाण्डु ३ कात्तिक–निर्वाचन आयोगले अघिल्लो संविधानसभामा ५ प्रतिशतभन्दा बढी मत बदर भएका स्थानहरुमा विशेष मतदाता शिक्षा कार्यक्रम लागू गर्ने भएको छ । २०६४ को संविधानसभामा ५ प्रतिशतभन्दा बढी मत बदर भएका ३५ जिल्लाका एक सय १५ निर्वाचन क्षेत्रमा सही तरिकाले मतदान गर्ने तरिका सिकाउने गरी विशेष मतदाता शिक्षा सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
छिट्टै कार्यक्रम स्वीकृत गरी खाका सहित जिल्लालाई निर्देशन दिने र यसै हप्तादेखि नै कार्यक्रम शुरु हुने आयोगको भनाई छ । त्यसका लागि झण्डै ७० लाख रुपैयाँ लाग्ने आयोगको अनुमान छ । पहिलेको घटनाबाट पाठ सिक्दै मतदातालाई थप सचेत बनाउने हिसावले कार्यक्रम गर्न लागिएको निर्वाचन आयुक्त इला शर्माले बताइन । ‘जहाँ कमजोरी हुन्छ, त्यहाँ बढी ध्यान त दिनै दिनुपर्छ’ आयुक्त इला शर्माले भनिन्,  ‘बढी बदर भएको क्षेत्रमा स्वभाविक हिसावले आयोगले बढी ध्यान दिनुपर्छ ।’
अघिल्लो संविधानसभा निर्वाचनमा तराईका पूर्वी जिल्लाहरुमा सबैभन्दा बढी मत बदर भएको थियो । सबैभन्दा बढी सप्तरी क्षेत्र नम्बर २ मा खसेको मतको ९.३ प्रतिशत मत बदर भएको थियो । त्यस्तै धनुषा क्षेत्र नम्बर ५ मा ८.९२ प्रतिशत, सिरहा क्षेत्र नम्बर ३ मा ८.२१ प्रतिशत, महोत्तरी २ मा ८.१९ प्रतिशत तथा रौतहट क्षेत्र नम्बर ५ मा ८.१ प्रतिशत मत बदर भएको थियो ।
त्यसका लागि मतदाता शिक्षा स्वय सेवक, स्थानीय सामूदायिक संस्था, आमा समूह लगायतलाई परिचानल गर्ने र नमूना मतदात गराएर भए पनि सहि तरिकाले मतदान गर्न सिकाउने निर्वाचन आयोगको तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us