झरीले करोडौँ मूल्यको उखु नोक्सान

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ३:४६ मा प्रकाशित

बर्दिवास, ३ कात्तिक–बडादसैँ पर्वसँगै लगातार परेको चारदिने झरीले उखुबाली सोत्तर पारेर ढालेपछि महोत्तरी जिल्लाका किसान चिन्तित भएका छन् । महानवमीको दिन दिउँसोदेखि त्रयोदशीको बिहानसम्म हावाहुरीसँगै परेको झरीले उखुका बोट ढालेपछि जिल्लाका किसान चिन्तित भएका हुन् ।

एक महिनापछि नै काट्न थालिने उखु हावाहुरीसँगैको चारदिने झरीले ढालेपछि बिघौँबिघाको करोडौँ मूल्यको उखु नोक्सान भएको किसानको भनाइ छ । उखु ढलेपछि नबढ्ने र ढलेको उखुमा मुसाको जगजगीसमेत बढ्ने भएपछि आपूmहरुको चिन्ता बढेको भङ्गाहा–३ रामनगरका उखु किसान अरुण गिरीले बताए । जिल्लामा उखुखेतीलाई नै मुख्य व्यवसाय अपनाइएका लक्ष्मीनियाँ, बेलगाछी, बिजलपुरा, हात्तीलेट, रामनगर, पशुपतिनगर, किसाननगर, भङ्गाहा र औरहीलगायतका गाविसमा बढीजसो उखु ढलेको किसानले बताएका छन् ।

यसैबीच रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले झरीले ढालेको उखु एकसाताभित्रै उठाएर बाँध्न नसके निकै क्षति हुने जनाएको छ । पछिल्लो झरीका कारण जिल्लाको उत्तरवत्र्ती क्षेत्रको उखु उत्पादनमा २५ देखि ४० प्रतिशतले ह्रास आउनसक्ने इन्डस्ट्रिजका उखुबाली विज्ञ पवित्रकुमार महतोको भनाइ छ । जिल्लामा यसपालि १५ हजार हेक्टर क्षेत्रफलमा उखुबाली लगाइएको महतोले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us