सुर्खेतका छत्तीस गाविस अँध्यारो

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते २:४५ मा प्रकाशित

सुर्खेत, ३ कात्तिक । मध्यपश्चिम क्षेत्रकै सदरमुकाम सुर्खेतका तीन दर्जन गाविसमा अझै बिजुली बत्ती पुग्न सकेको छैन । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रका करिब ३६ गाविसका नागरिक अँध्यारोमै बस्न बाध्य भएका छन् । कतिपय नागरिकले बिजुली नहुँदा वैकल्पिक रुपमा सोलारको प्रयोग गरिरहेका छन् भने कतिपय टुकीमारा, टुकी र दियालो प्रयोग गर्न बाध्य भएका छन् ।

यस्ता गाविसमा उत्तरका रानीवास, मटेला, काफलकोट, अवलचिङ, रतु, पाम्का, रजेना, गर्पन, पश्चिमका तातोपानी, लगाम, वेतान, तरङ्गा, बड्डीचौर, बाबियाचौर, छाप्रे, हरिहरपुरलगायत रहेका विद्युत् प्राधिकरण शाखा सुर्खेतले जनाएको छ । सुर्खेतको छिन्चुदेखि जाजरकोटको खलङ्गासम्मको मुख्य विद्युत् लाइनको निर्माण कार्य पूरा नहुँदा बिजुली बाल्ने आशामा रहेका जाजरकोट सडकसँग जोडिएका सुर्खेतका पूर्वी गाविसका बासिन्दा पनि निरास बनेका छन् ।

बिजुली बत्तीको अभावमा पश्चिमको चमेरे गुफा, दहताल, घाटगाउँको दोभानचौर, जाजुरा दह, पूर्वको गुर्भाकोट, तामाखानी रहेको तिदुगाना गुफा, पातिहाल्नाको बल्लेजुरा, नाहागाउँको धार्मिकस्थल, मस्तारागुफालगायतका डेढ दर्जनभन्दा बढी पर्यटकीयस्थलसमेत आझेलमा परेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us