सचेतनाले पनि दुर्घटना कम भएन

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते २:४३ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक–सुन्दरीजल क्षेत्रमा रहेको खोला र ड्याममा हुने दुर्घटना बर्सेनि दोहोरिएपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिए पनि दुर्घटनामा कमी भने हुन सकेको छैन । दुर्घटना कम गर्नका लागि स्थानीयवासी र पर्यटक दुवैलाई सम्भावित खतरा र त्यसबाट गर्न सकिने पूर्व तयारीका बारेमा विभिन्न होर्डिङ बोर्ड, ढुङ्गेलेखनजस्ता कार्यक्रमलाई व्यापक बनाए पनि दुर्घटना घट्ने क्रम भने रोकिएको छैन ।

महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रमुख सुरेशबहादुर सिंहले बाहिरबाट यहाँ घुम्न आउनेहरुले सजगता नअपनाउँदा बर्सेनि खानेपानीको ड्याम र बागमती खोलामा खसेर दुर्घटना हुने गरेको बताए । खोला ठूलो भए पनि माथिबाट हेर्दा सानो देखिने हुनाले दुर्घटना दोहोरिने गरेको र दलदलमा पर्दा उद्धार गर्न पनि मुस्किल हुने गरेको उनको भनाइ छ ।

वार्षिक यस्ता दुर्घटनाका कारण यहाँ कम्तीमा पनि पाँच जनाको मृत्यु हुने गरेको प्रभागले जनाएको छ । प्रभागले विभिन्न ठाउँमा पोस्टर र भित्ते लेखन गरिरहेको बताउँदै उनले भने, ‘भित्ते लेखन गर्दासमेत कतिपयले बेवास्ता गरिरहेका छन्, हामीले जुन ठाउँमा खतरा लेखेका छौँ त्यही ठाउँमा युवाहरु ‘ओभर कन्फिडेन्स’का कारण बेवास्ता गर्दै जान्छन् ।’ सुन्दरीजल खोलाको उदगम स्थल, पानीको ड्यामलगायतका बढी दुर्घटना हुने स्थान शिवपुरी निकुञ्ज क्षेत्रभित्र पर्ने भए पनि त्यहाँ रहेको ब्यारेकले दुर्घटना बर्सेनि दोहोरिँदा पनि सुरक्षा वा सजगताका लागि कुनै पहल नगरेको उनले बताए ।

विशेषगरी बाहिरबाट आउने अवलोकनकर्ताहरु फोटो खिच्नका लागि अग्लोअग्लो ढुङ्गामा जाने र त्यसबाट चिप्लिएर दुर्घटना हुने गरेको छ । यस्तै खोला देखेर पौडिन खोज्नेहरुसमेत हराउने वा ढुङ्गामा परी मृत्यु हुने गरेको प्रभाग प्रमुख सिंहले जानकारी दिए । ‘निकुञ्जभित्रको सुरक्षाको जिम्मा त्यहाँ रहेको ब्यारेकको भए पनि हामीले पनि सक्दो गरिरहेका छौँ, तर हामीसँग जनशक्ति पर्याप्त नभएकाले जङ्गलका माथिल्ला भागसम्म नै सुरक्षा दिन सकिँदैन,’ उनले भने । प्रभागमा १० जनाको दरबन्दी भएकामा अहिले त्योभन्दा कम जनशक्ति कार्यरत छन् ।

सुन्दरीजल गाविसको जनसङ्ख्या झन्डै २० हजार रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us