जनकपुरमा सुविधासम्पन्न अस्पताल

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते २:२१ मा प्रकाशित

धनुषा, ३ कात्तिक–गुणस्तरीय स्वास्थ्य सेवा लिन भारत तथा अन्यत्र जानुपर्ने बाध्यता खेप्दै आएका जनकपुरधामका बिरामीलाई अब त्यो समस्या टरेर गएको छ ।     निजीस्तरमा १० करोड २५ लाख रुपैयाँ लागतमा निर्माण भएको एकसय शैयाको जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टर प्रालि नामको सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएपछि बिरामीलाई बाहिर जानुपर्ने बाध्यता हटेर गएको हो ।

गरिब तथा आर्थिक अवस्था कमजोर रहेका बिरामीका लागि अस्पतालले २० शैया छुट्याएर उपचारमा सहुलियत दिने व्यवस्था मिलाएको अस्पताल प्रशासनले जनाएको छ । पैँतीसजना विशेषज्ञ चिकित्सकसहित १० जना मेडिकल अधिकृत र २० जना कर्मचारीले प्रत्यक्ष सेवा पुर्‍याइरहेको सो अस्पतालमा हाल आकस्मिक, साधारण प्रसूति, बालरोग, प्याथोलोजी जाँच, भेन्टिलेटर तथा आइसियु सेवा सञ्चालन हुँदै आएको छ ।

थप सेवा विस्तार गर्दै अस्पतालले २५ लाखको लगानीमा छुट्टै आँखा सेवा विभाग सुरु गरेपछि आँखा रोगीलाई समेत सेवा लिन सुविधा भएको उपचार गराउन आएका बिरामी बताउँछन् । अस्पतालले आँखा उपचार गराउन आउने प्रतिबिरामीबाट १२५ रुपैयाँ मात्र शुल्क लिने गरेकाले आर्थिक अवस्था कमजोर रहेका बिरामी बढी आकर्षित हुन थालेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us