उम्मेदवार कार्यकर्तालाई काँग्रेस र एमालेले गरे कार्वाही

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १६:४९ मा प्रकाशित

काठमाण्डु–काँग्रेस र एमालेले पार्टी हित विपरित काम गरेको भन्दै आफना कार्यकर्तालाई कार्वाही गरेका छन । आफनो पार्टीलाई पराजित गराउने गरी अरु पार्टीबाट उम्मेदवारी दिएका र आफनै पार्टीका नेताको बिपक्षमा बागी उम्मेदवारी दिएका माथि काँग्रेस र एमालेले कार्वाही गरेको हो ।
काँग्रेसका सभापति सुशील कोइरालाले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएका काँग्रेस चितवनका पूर्व सभापति विकास कोइराला र उनका समर्थकसहित पाँच जनालाई शनिवार
काँग्रेसले कारबाही गरेको छ ।
काँग्रेस चितवनको शनिवार बसेको बैठकले उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र अन्य पार्टीबाट उम्मेदवार दिने आफ्ना नेता तथा कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
चितवन निर्वाचन क्षेत्र नं ४ का बागी उम्मेदवार विकास कोइराला र तिनका प्रस्तावक प्रकाश अधिकारी र अन्य पार्टीबाट उम्मेदवारी दिएका स्वाभिमान नेपालका ध्रुवराज मिश्र, थरुहटबाट उम्मेदवारी दिएका टीकेन्द्र चौधरी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट उम्मेदवारी दिएकी निरु कार्कीलाई निष्कासन गरेको नेका जिल्ला सचिव सुनील श्रेष्ठले बताए । मिश्र र कार्की ३ नम्बर निर्वाचन क्षेत्र र चौधरी १ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार हुन् । बैठकले स्वतन्त्र तथा अरू पार्टीको समर्थनमा लागेका जो कोही नेता र कार्यकर्तालाई पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ ।
यसै गरी एमाल सुनसरीले विभिन्न निर्वाचन क्षेत्रबाट आफ्नो पार्टी छाडेर अन्य पार्टीका प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बन्न पुगेका आठ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।
पार्टीको हित प्रतिकूल हुने गरी अन्य पार्टीबाट उम्मेदवार बन्न पुगेकामध्ये सद्भावना पार्टी निर्वाचन क्षेत्र नंम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका अरविन राई, समानुपातिकका उम्मेदवार डिल्ली सिग्देललाई पार्टीबाट निष्काशित गरिएको हो ।
निर्वाचन क्षेत्र नंम्बर ६ बाट एमाले छाडेर लेबर पार्टीबाट उम्मेदवार बनेका गोकुल थापा, राप्रपाबाट उम्मेदवार बनेका भरत भट्टराई, खस क्षेत्री समन्वय पार्टीबाट उम्मेदवार बनेका दलबहादुर खड्का र ब्राहमण समाज नेपालबाट प्रत्यक्षको उम्मेदवार बनेकी राधा निरौलालाई पनि पार्टीले निष्काशन गरेको छ ।
पार्टीका कार्यवाहक अध्यक्ष द्वारिकलाल चौधरीद्वारा आज जारी विज्ञप्तिअनुसार लिम्बूवान मुक्तिमोर्चा नेपालबाट समानुपातिकका उम्मेदवार रहेका पत्रकार प्रेम बास्तोलालाई पनि निष्काशन गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us