काँग्रेसले पनि टुंग्यायो घोषणापत्र

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– नेपाली काँग्रेस राज्य पुर्नसंरचनाका लागि दुई विकल्पसहित संविधानसभा निर्वाचनमा जाने भएको छ ।
nc flagकाँग्रेसले आसन्न संविधानसभा निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्रमा पहिचान र सामथ्र्यमा आधारित सात वा १३ प्रदेशको विकल्पसहित निर्वाचनमा जाने उल्लेख छ । राज्य पुनर्संरचनाका विषयमा चुनावी घोषणापत्र समितिमा रहेका नेताहरुबीच मत बाझिएपछि शीर्ष नेताहरुको उपस्थितिमा शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्रलाई अन्तिम रुप दिएको नेता नरहरि आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार घोषणापत्रमा संघीय प्रदेशहरुको नामाङ्नको जिम्मा भने सम्बन्धित प्रदेश सभालाई नै दिने उल्लेख गरिएको छ । काँग्रेसले संसदबाट निर्वाचित आलंकारिक राष्ट्रपति र संसदप्रति उत्तरदायी कार्यकारी प्रधानमन्त्री रहने गरी दुई सदनात्मक व्यवस्था प्रस्ताव गरेको छ ।

यस्तै घोषणपत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै सामाजिक सुरक्षा र आरक्षणमा विशेष जोड दिइने उल्लेख गरिएको बताइएको छ । काँग्रसले तीन वर्षमा नेपाललाई लोडसेडिङमुक्त बनाउने प्रतिबद्धता पनि घोषणापत्रमा गरेको छ ।

काँग्रेसले एक वर्षभित्र संविधान जारी गर्ने तथा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने  पनि घोषणापत्रमा उल्लेख गरेको छ । आचार्यले घोषणापत्र छपाइका लागि प्रेसमा पठाइएको र केही दिनभित्रै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us