
काठमाण्डु, २ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले एजेण्डा केन्द्रित गरेर घोषणापत्र सार्वजनिक गरेकाले आफूहरुको बहुमत आउने दाबी गरेका छन् ।
सानेपास्थित निवासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै घोषणापत्र मस्यौदा समिति संयोजकसमेत रहेका भट्टराईले कसैलाई गाली नगरी सचेत ढंगले मुद्दा केन्द्रित घोषणा पत्र ल्याएकाले आफूहरुले स्पष्ट बहुमत ल्याउने दाबी गरे ।
संविधानसभामा कांग्रेस–एमालेले जिते २०४७ सालको भन्दा फरक संविधान बन्न नसक्ने भन्दै उनले आफूहरुले नजिते परिवर्तशिल संविधान बन्न नसक्ने बताए ।
नेता भट्टराईले संविधानसभामा सहमति हुन नसकेका विषयलाई जनमत संग्रहमा लागिने उल्लेख गरे ।
भट्टराईले ६ महिना सहमतिको प्रयास गरिने, अर्को ६ महिनामा भोटिङ प्रक्रियामा लगेर पनि टुंगिन नसकेका विषयलाई जनमत संग्रहमा लगिने र एक वर्षभित्रै संविधान जारी गरिने प्रतिबद्धता जनाए ।
यसअघिको संविधानसभामा सहमति भइसकेका विषयमा थप छलफल गरेर समय खेर नफाल्ने भन्दै उनले सहमतीको वातावरण विथोलिएको बिन्दुबाट सहमथि प्रयास गरिने बताए ।