रौतहटमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १२:३७ मा प्रकाशित

रौतहट, २ कात्तिक – शीर्ष नेतालाई जिताउने गरी चुनावी सहकार्य गर्ने बताउँदै आएका काँग्रेस–एमालेका कार्यकर्ताबीच रौतहटमा झडप भएको छ ।

रौतहटको गम्हरीया विर्तामा काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच शनिबार साँझ झडप भएको हो । झडपमा दुवैतिरका गरी कम्तिमा १० जना घाइते भएका छन । घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

एमाले कार्यकर्ता चुनावी प्रचार–प्रसारका लागि गम्हरीया विर्ता–७ स्थित बहुअरी टोल पुगेका बेला काँग्रेस कार्यकर्ता विवेक यादवले युवती जिस्काएको भन्दै एमाले कार्यकर्ताले उनीमाथि कुटपिट गरेका थिए ।
झडपमा संलग्न एमालेका तीन र कांग्रेसका दुई कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । झडपको नेतृत्व काँग्रेस क्षेत्र नम्बर–६ का सभापति रामअज्ञा यादव र एमाले स्थानीय नेता सियाराम यादवले गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us