
रुकुम, २ कात्तिक– एकीकृत माओवादीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्माको– २ चिन्तुमा एमाओवादीका भूपालसिंह ओलीलगायतको प्रचारप्रसार टोलीमाथि आक्रमण प्रयास गर्नेलाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घटनामा संलग्न अर्मा–२ का खडकबहादुर पुन, दीपेन्द्र खड्का र धर्मबहादुर खड्कालाई पक्राउ गरिएको रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
पक्राउ परेकाले नुवाकोट गाविसको तिमिलेमा लागेको स्थानीय मेलामा वीरेन्द्र ओली र विजय ओलीमाथि पनि साङ्घातिक आक्रमण गरेको जनाइएको छ । घााटीमा खुकुरी लागेका दुवैको अवस्था गम्भीर रहेको बताइएको छ । शुक्रबार राति १ बजे चुनावी प्रचार टोलीमाथि आक्रमण प्रयास गरेका उनीहरुलाई शनिबार बिहान प्रहरीले पक्रेको हो ।
आफ्नो पार्टीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने एमालेनिकट युथफोर्स जिल्ला सदस्य भएको दाबी एकीकृत माओवादीको छ । एकीकृत माओवादीको २ नं क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक गोपाल शर्माले विज्ञप्ति निकाली दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।