एमाओवादी जिल्ला नेतामाथि गोली प्रहार

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १२:०४ मा प्रकाशित

gun-Shootदाङ, २ कात्तिक– दाङमा एकीकृत माओवादीका एक जिल्ला नेतामाथि गोली प्रहार भएको छ ।
माओवादी जिल्ला सदस्य हरिचन्द्र चौधरीमाथि ५ जनाको संख्यामा आएका हतियारधारी व्यक्तिहरुको समुहले शनिबार गोली प्रहार भएको हो ।

डुरुवा–६ धमकापुरका स्थायी बासिन्दा चौधरीमाथि ५ जनाको समूहमा आएका नचिनेका मान्छेहरुको समूहले गोली प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३८ वर्षीय चौधरीमाथि घरनजिकै गोरु चराइरहेका बेला करिब चार बजेको समयमा गोली हानिएको हो ।

चौधरीको दुवै खुट्टामा गोली लागेको छ । आक्रमणकारीले उनको कुममा खुकुरी प्रहार गरेका छन् । राप्ति अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि चौधरीलाई नेपालगञ्ज  रेफर गरिएको छ । प्रहरीले घटनामा संलग्नको पहिचान हुन नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्नको खोजीमा चौतर्फी प्रहरी खटाइएको जनाएको छ ।

घटनामा संलग्न दुईको पहिचान
यसैबीच घटनामा संलग्नमध्ये दुई जनाको पहिचान भएको छ । चौधरीमाथि गोली चलाउनेमध्ये उरहरी बेलगनारका जगत चौधरी र पारस हमालको पहिचान भइसकेको स्थानीय प्रशासनले जनाएको छ । उनीहरु यसअघि  विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा छन् ।

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आक्रमणकारीको खोजी जारी रहेको बताए । उनले अपराधी पक्रन दाङ प्रहरी प्रमुख एसपी शरदकुमार खत्री नेतृत्वमा
प्रहरी परिचालन गरिएको जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम राजमार्ग र मुख्य मुख्य नाकामा सशस्त्र प्रहरीसमेत खटाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us