भारतीय व्यावसायिक प्रमुखहरूद्वारा ‘त्रासको वातावरण’ बनेको चेतावनी

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १०:०२ मा प्रकाशित

नयाँ दिल्ली, २ कात्तिक–भारतमा प्रहरीले प्रमुख उद्योगपतिलाई भष्टाचारको आरोप लगाएपछि व्यावसायिक समूह ‘कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्री’ का अध्यक्ष क्रिस गोपालकृष्णनले व्यापारिक समूहमा ‘त्रासको वातावरण’ बनेको र यसले मुलुकको अर्थतन्त्रलाई प्रभावित बनाउनसक्ने चेतावनी दिएका छन ।
यसअघि केन्द्रीय अन्वेषण ब्युरोले आदित्य बिडला समूहका अध्यक्ष कुमार मङ्गलम बिडलाविरुद्ध सस्तो दरमा कोइला खानी प्राप्त गरेको आरोपमा मुद्दा दायर गरेको थियो । अध्यक्ष गोपालकृष्णनले शुक्रबार संस्था तथा व्यक्तिको ख्याति बन्न वर्षौँ लाग्ने बताए । उनले यस प्रकारको ख्याति बिगार्ने कुनै कारबाही गर्न निकै सावधानी लिइनुपर्ने बताए ।
उनले एक विज्ञप्ति प्रकाशन गरी हाल त्रासको वातावरण बनाउनु आवश्यक नभएको पनि दाबी गरे । छयालीस वर्षीय बिडलालाई भारतको व्यापारिक क्षेत्रमा कानुन पालना गर्ने परम्परावादी व्यक्तिको रूपमा हेरिन्छ र सीबीआईले सन् २००५ मा उनको समूहले कोइला खानी प्राप्त गरेको निर्णयका लागि उक्त मुद्दा दायर गरेको हो । यसले भारतको व्यापारिक समुदायलाई स्तब्ध बनाएको छ ।
गोपालकृष्णनले यस्तो घटनाले राष्ट्रिय मनोनिस्थतिमा आघात पार्ने तथा मुलुकभित्र तथा बाहिर लगानीमा प्रभाव पार्ने बताएका छन । भारतले गत दशकमा करिब दुई अङ्कको विकासदर प्राप्त गरेपछि गत आर्थिक वर्षमा केबल ४.४ प्रतिशत वृद्धिदर प्राप्त गरेको थियो र यसका कारण त्यहाँ व्यापारिक विश्वास घटेको देखिएको छ ।
बिडलाको नाम कङ्ग्रेस पार्टीको नेतृत्वमा रहेको सरकार तथा उसका गठबन्धनका अनेकौँ मन्त्रीहरूमाथि कारवाही हुने गरी देखिएको कोइलासहित अन्य भ्रष्टाचार काण्डमा अन्य व्यापारिक नेताका साथमा जोडिएको छ । बिडला तथा पूर्व कोइला सचिव पी.सी पाराखले षडयन्त्र गरेको आरोप लगाइएको छ र उनीहरु दुबैले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेका छन ।
यी विवादहरूले प्रधानमन्त्री मनमोहन सिंहको सरकारको आउँदो मे महिनामा हुने निर्वाचनमा सम्भावना निकै कम हुने देखाएको छ । भारतीय वाणिज्य एवम् उद्योग महासङ्घका अध्यक्ष नैनलाल किडवाइले पनि बिडलामाथि लगाइएको आरोप दुर्भाग्यपूर्ण भएको बताएका छन । उनले कुनै पनि गलत काम गरेको भनिएका विषयमा उच्च रूपमा सम्मान गरिएका अधिकारी तथा व्यापारिक नेताहरूलाई फसाउन नहुने बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us