कमल थापा भन्छन्: भारतमा मोदी प्रधानमन्त्री भए नेपालमा राजतन्त्र फर्कन्छ

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १२:५१ मा प्रकाशित

विराटनगर, २ कात्तिक– राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए नेपालमा राजतन्त्र फर्कने दाबी गरेका छन् ।
Kamal-Thapaविराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले मोदीले नेपाललाई राजतन्त्रसहितको हिन्दू राष्ट्र बनाउन सहयोग गर्ने बचन दिएको खुलासा गरेका हुन् ।
थापाले दसैंको बीचमा आफू र मोदीबीच भेट भएको र त्यस क्रममा उनले नेपाललाई हिन्दू राष्ट्र बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

मोदीलाई भारतीय जनता पार्टीले आगामी निर्वाचनमा प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेको छ । हाल उनी गुजरातमा मुख्यमन्त्री छन् ।
मोदीले यसअघि पनि सार्वजनिक रुपमै नेपाल हिन्दू राष्ट्र हुनुपर्ने विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

‘विश्वभर छरिएर रहेका एक अर्ब आठ करोड हिन्दूहरुको भावना नेपाल हिन्दू राष्ट्र रहोस् भन्ने छ’, अध्यक्ष थापाले भने, ‘नरेन्द्र मोदीजीले मसँगको भेटमा नेपाललाई पुन: हिन्दू राज्यमा फर्काउन सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।’
उनले आफ्नो पार्टीले संविधानसभा निर्वाचन र त्यसबाट गठन हुने संविधानसभालाई हिन्दू राष्ट्र बनाउने अवसरका रुपमा उपयोग गर्न लागेको समेत बताए । उनले निर्वाचनबाट आफ्नो पार्टी वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us