पानी पाउने आसैआसमा बित्यो ६ वर्ष

काठमाण्डु टुडे २०७० कार्तिक २ गते ७:५२ मा प्रकाशित

झापा, २ कात्तिक–वर्षौंदेखि शुद्ध पिउने पानीको अभाव झेल्दै आएका चुलाचुली–१ इलामको कमल गाउँका बासिन्दा ६ वर्षदेखि निर्माणाधीन खानेपानी आयोजनाको ढिलासुस्तीप्रति आक्रोशित छन् ।
विसं २०६३ मा सरकारले तत्कालीन माओवादी लडाकुकोे प्रथम डिभिजनमा पिउने पानीको व्यवस्था मिलाउन चुलाचुली–१ कमलझोडामा तीन करोड रुपैयाको लागतमा नयाँ परियोजना सुरु गरेको थियो । निर्माण सुरु भएको ६ वर्ष बितिसक्दासमेत परियोजना सम्पन्न हुन सकेको छैन ।
निर्माणाधीन कमलझोडा खानेपानी आयोजनाले स्थानीय ६०० घरधुरी भएका स्थानीय बासिन्दा र माओवादी लडाकु शिविरमा शुद्ध पिउने पानी आपूर्ति गर्ने अपेक्षा गरिएको थियो । तर, लडाकु शिविरमा भिन्दै ट्याङ्की स्थापना गरिएपछि गाउँमा स्थापित परियोजना बेवास्ताको सिकार बन्न पुगेको स्थानीयवासीको भनाइ छ ।
स्थानीयवासी अहिले पनि घन्टौँ धाएर सीमित इनारबाट पानी भर्नुपर्ने बाध्यतामा रहेका छन् । “आयोजना सुरु भएको ६ वर्ष बितिसक्यो समस्या जस्ताको तस्तै छ”, स्थानीय भीमकला राई बताउछन ।

स्थानीय चन्द्र फागोका अनुसार गाउँमा भौगोलिक अवस्थाका कारण ट्युवबेल गाड्दा पनि मुस्किलले पानीको सतह भेटिने र भेटिएको पानी पनि शुद्ध नहुने समस्या छ ।
खानेपानी परियोजनाका सचिव नरेन्द्र न्यौपानेले अहिले बल्लतल्ल बोरिङको काम सकिएको जानकारी दिए । पानीको मुहानलाई पहिरोले क्षति गरेपछि योजना लामो समयसम्म अलपत्र परेको उहाँको भनाइ छ । एक लाख लिटर क्षमता भएको ट्याङ्की निर्माण र केही ठाउँमा पाइप गाड्ने काम सम्पन्न भइसकेको जानकारी दिँदै न्यौपानेले यसै आर्थिक वर्षभित्रमा उपभोक्तालाई पानी वितरण गर्ने तयारी भइरहेको बताए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चन्द्रगढी झापाका इन्जिनियर बाबुकाजी श्रेष्ठले बजेट अभावका कारण परियोजनाको काम समयमा पूरा हुन नसकेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us