चार करोडबराबरको चौपाया खरिद–बिक्री

काठमाण्डु टुडे २०७० कार्तिक १ गते २:३२ मा प्रकाशित

जुम्ला, १ कात्तिक–यस पटकको दसैँमा जुम्ला जिल्लामा मात्र करिब पौने चार करोड बराबरको चौपाया खरिद–बिक्री भएको छ ।
बर्सेनि तिब्बतबाट भेडाच्याङ्ग्रा आउने गरेकोमा यसपटक भने जुम्लासहित बाजुरा, मुगु र कालीकोटबाट भेडाबाख्रा खरिद बिक्रीका लागि ल्याइएको थियो ।
जुम्लाका ताम्ती, मालिकाठाँटा, गज्र्याङ्कोट, घोडेमहादेव, विराट, शनिगाउँ, पटमारा, हाकु, कुडारी गरी नौ गाविसका चार हजार पाँच सय ९२ र अन्य जिल्लाका ६ सय ८१ भेडा सदरमुकाम जुम्लामा ल्याइएको थियो । त्यसमा तीन हजार ६ सय ७३ भेडाबाख्रा सरदर १० हजारका दरले बिक्री हँुदा करिब पौने चार करोडबराबरको कारोबार भएको जिल्ला पशुसेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख धनजित बुढाले बताए ।
बिक्री गरिएका भेडाबाख्राको न्यूनतम मूल्य दुई हजार पाँच सय र अधिकतम मूल्य १९ हजार थियो । त्यसैगरी राँगाभैँसी साढे ११ लाख, कुखुरा ९० हजारको कारोबार भएको उक्त कार्यालयबाट परिचालित प्राविधिक समितिले बताएको छ । कृषकले सही तथ्याङ्क दिन हिच्किचाउँदा सही विवरण आउन नसकेको नायव पशुसेवा प्राविधिक हरिबहादुर बानियाँले बताए ।
नगरपालिकाले अनधिकृत ढङ्गबाट कर असुली रहेको समयमा गणेश सामुदायिक वन उपभोक्ता समिति चन्दननाथ–३ भण्डारीबाडा तथा जनसेवा युवा क्लब जुम्लाले पनि मनपरी तरिकाले कर असुल्दा तथ्याङ्क सङ्कलनमा प्रभाव परेको र एकरुपता ल्याउन नसकिएको सो समितिले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष करिब ३५ प्रतिशतभन्दा बढीले कारोबार भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us