लाखौँको दलहन तथा तेलहन बाली नष्ट

काठमाण्डु टुडे २०७० असोज ३१ गते १३:५७ मा प्रकाशित

गौशाला, ३१ असोज –दसैँको अन्तिम तीन दिन महोत्तरीमा परेको अविरल वर्षाका कारण जिल्लामा लाखाँै मूल्य बराबरको दलहन तथा तेलहन बाली नष्ट भएको छ ।
जिल्लाको ७६ गाविस र १ नगरपालिका क्षेत्रभित्र रहेको हजाराँै हेक्टर जग्गामा छरिएको लाखाँै मूल्य बराबरको दलहन तथा तेलहन बालीलाई लगातार तीन दिनसम्म परेको पानीले नष्ट पारेको किसान बताउँछन् ।
जिल्लाका किसानले दसैँको आगमनसँगै आ–आफ्ना खेतबारीमा छरेको मसुरो, आलस, केराउ, मटर, तोरी, रायो, खेसारी, रहरियालगायतका सयौँ क्विन्टल दलहन तथा तेलहनबालीलाई पानीले नष्ट बनाएको कुरा जलेश्वर–७ का किसान आश नारायण मण्डलले बताएका छन् ।
बाली छर्ने बेलामा परेको बेमौसमी पानीले जिल्लाको प्रत्येक खेतबारीमा एक बित्तादेखि एक हातसम्म पानी जमाएका कारण हजाराँै बिघामा छरिएका दलहन तथा तेलहनका बीउ पानीमा कुहिएर नष्ट भएको कुरा रामगोपालपुर–७ का प्रमोद मण्डलले बताए ।
दुई, तीनसम्म मात्र छ्यापछ्याप्पी पानी सहन गर्नसक्ने बीउबिजनमा १० दिनसम्ममा पनि सुक्न नसक्ने पानी लागेको कारण सबै बीउबिजन कुहिएको बताउँदै बनौली–४ का वैद्यनाथ चौधरीले यसवर्ष जिल्लामा दलहन तथा तेलहन बालीको उत्पादनमा निकै कमी आउने तथा कतैकतै त उत्पादन नै नहुने सम्भावना बढेको बताए ।
तीस हजारभन्दा बढी हेक्टर जग्गामा प्रत्येक वर्ष दलहन तथा तेलहन बाली लगाइने महोत्तरीमा यसवर्षको भिषण पानीले दलहन तथा तेलहन बालीमा ठूलो ह्रास आउने जिल्ला कृषि कार्यालय महोत्तरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us