उम्मेदवारहरु मतदाताको घरदैलोमा

काठमाण्डु टुडे २०७० असोज ३१ गते ४:४५ मा प्रकाशित

पोखरा, ३१ असोज–निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशनसँगै निर्वाचन चिह्न वितरण गरेपछि कास्कीका चार निर्वाचन क्षेत्रमा चुनावी वातावरण तातेको छ ।
उम्मेदवारहरु अहिले आ–आफनो क्षेत्रमा पुगी घरदैलो कार्यक्रम, कोणसभा एवम् भेटघाट जस्ता कार्यक्रममा व्यस्त हुन थालेका छन् । मतदाताहरुले पनि  चियापसल, भेटघाट एवम् चौतारोमा कुराकानी गर्दा निर्वाचनका बारेमै टीकाटिप्पणी  गर्न थालेका छन् ।
एकल जातीय वा बहुपहिचानसहितको सङ्घीयता बारेको विवादले जिल्लाका चार निर्वाचन क्षेत्रमा यसै पार्टीले जित्छ भनेर कसैले भन्न सकेका छैनन् । जिल्लाको क्षेत्र नं १ मा २१ राजनीतिक दलका २१ र एक स्वतन्त्र गरी २२, क्षेत्र नं २ मा १९ राजनीतिक दल र एक स्वतन्त्र गरी २०, क्षेत्र नं ३ मा १६ राजनीतिक दल र तीन स्वतन्त्र गरी १९ र क्षेत्र नं ४ मा १४ राजनीतिक दल र दुईजना स्वतन्त्र गरी १६ सहित ७७ जना उम्मेदवार  चुनावी  प्रतिस्पर्धामा छन् ।
दुई नगरपालिका र ४३ गाविस भएको जिल्लामा मतदाता सङ्ख्या एक लाख ९७ हजार ६६० रहेको छ । जिल्लाका १४७ स्थानमा २९२ मतदान केन्द्र राखिएको छ । ९०० मतदाता रहेको ठाउँमा एक मतदान केन्द्र  र त्योभन्दा बढी मतदाता भएको ठाउँमा मतदान केन्द्र थपिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अघिल्लो संविधानसभाको निर्वाचनमा भन्दा यस निर्वाचनमा जिल्लामा एक लाख १७ हजार मतदाता घटेका छन् । बसाइँसराइँ,  मृत्यु भएका मतदाताको नाम काटिनु, दोहोरो भएका मतदाता सङ्ख्याको नाम घटाउँदा मतदाता सङ्ख्या घटेको बताइएको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा (माओवादी)ले १, २ र ४ मा र नेकपा (एमाले)ले क्षेत्र नं ३ मा विजय हासिल गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us