आर्थिक अभावले अनिवार्य शिक्षा कार्यक्रम प्रभावित

काठमाण्डु टुडे २०७० असोज ३१ गते ४:२७ मा प्रकाशित

सुर्खेत, ३१ असोज–आर्थिक अभावका कारण सुर्खेतमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रम प्रभावित भएको छ ।
राज्यले पर्याप्त आर्थिक सहयोग उपलब्ध गराउन नसक्दा यो कार्यक्रम प्रभावित भएको अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक घोषणा गरिएका विद्यालयले गुनासो गरेका छन् । जिल्लामा हालसम्म अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यक्रम लागू भएका १६ वटा गाविसमा सञ्चालित सामुदायिक विद्यालय सञ्चालनमा कठिनाइ आएको गाउँ शिक्षा समितिका पदाधिकारीहरुको भनाइ छ ।
अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा घोषणा गरिसकेपछि विद्यार्थीबाट
कुनै किसिमको शुल्क नलिइने र आफ्नै आन्तरिक स्रोतसाधनको अधिकतम् प्रयोग गरेर विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यताका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भइरहेको जनसेवा उमावि घुस्रा लाटिकोइलीका प्राचार्य भक्तबहादुर शाहीले बताए ।
सो कार्यक्रम लागू भएको देशकै पहिलो गर्पन गाविसमा भने आर्थिक अभावले खासै प्रभाव नपरेको आदर्श उमावि मेहली गर्पनका प्राचार्य देवीलाल खरालको भनाइ छ ।
यता जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले पनि अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम सञ्चालन भएका विद्यालयले अतिरिक्त आयस्रोतका उपाय खोज्न नसक्दा केही कठिनाइ भए पनि दीर्घकालीन समस्या नहुने दाबी गरेका छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us