दलहरु घोषणा पत्रको अन्तिम तयारीमा

काठमाण्डु टुडे २०७० असोज ३१ गते २:५२ मा प्रकाशित

काठमाण्डु ३१–उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचिका लागि संसोधन गर्ने समय पनि शुरु भइसकेको छ । कात्तिक ५ गते भित्र उनीहरुले बन्दसूचि संसोधन गरिसक्नु पर्नेछ । अहिले उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पसिसकेका छन् ।
यसरी उम्मेदवार भोट माग्न गाउँ पसिसक्दा साथमा घोषणा पत्र पनि हुनु पर्ने हो । त्यही घोषणा पत्रमा उल्लेख एजेण्डाका आधारमा जनताले भोट दिनु पर्ने हो । तर राप्रपा नेपाल बाहेकका दलहरुले अहिलेसम्म घोषणा पत्रलाई अन्तिम रुप दिइसकेका छैनन् । बरु अव अन्तिम रुप दिन कम्मर कसेर लागेका छन् ।
एकीकृत नेकपा माओवादीले शनिवारसम्म चुनावी घोषणा पत्र सार्वजनिक गर्ने जनाएको छ । प्रवक्ता अग्नी साप्कोटाले अहिले आन्तरिक तयारी गरिरहेको भन्दै शनिवार काठमाण्डुमा कार्यक्रम गरेर सार्वजनिक गर्ने जानकारी दिए । निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची संसोधन सहित बुधवार बुझाइसकेको जानकारी पनि उनले दिए ।
यस्तै नेपाली काँग्रेसले पनि केही दिनमै चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएको छ । घोषणा पत्र मस्यौदा समितिले तयार गरी सकेको भन्दै कांग्रेसले छिट्टै घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ ।
नेकपा एमालेले भने बहुपहिचानमा आधारित ७ प्रदेश र कार्यकारी प्रमुखको रुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकिय स्वरुपको घोषणा पत्रलाई स्थाई कमिटिबाट पारित गरिसकेको र अव छपाईका लागि प्रेसमा पठाउने जनाएको छ ।
त्यस्तै मधेशवादी दलहरु पनि घोषणा पत्रलाई अन्तिम रुप दिने तयारीमा रहेको जनाएका छन् । २०६४ सालकै जस्तो चुनाव र उस्तै खालका एजेण्डा भएकाले पनि दलहरुले घोषणा पत्रलाई पहिलो प्राथमिकता दिएका छैनन् । भोट माग्दा उम्मेदवारहरुले पहिलेकै एजेण्डालाई आधार मानेर भोट माग्ने काम गरिरहेको उम्मेदवारहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us