मतदाता शिक्षा कार्यक्रम कात्तिक महिनाभर

काठमाण्डु टुडे २०७० असोज ३१ गते २:३६ मा प्रकाशित

चितवन, ३१ असोज–बडा दसैँ पर्व सकिएलगत्तै गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
निर्वाचन कार्यालय चितवनले कात्तिकको पहिलो साताबाट मतदाता शिक्षा स्वयम्सेवक र निर्वाचन शिक्षा कार्यकर्तालाई गाउँमा पठाउन लागेको हो । विद्यालयका शिक्षक शिक्षिका र गाउँ विकास समितिका सामाजिक परिचालकलाई मतदाता शिक्षा कार्यक्रमका लागि तालिम दिइसकिएको छ ।
यो अभियानमा चितवनमा १४१ जना स्वयम्सेवक र ६३ जना शिक्षक शिक्षिकालाई खटाइने जिल्ला निर्वाचन अधिकारी हरि ढकालले बताए । उनीहरुले घरघरमा पुगेर पर्चा तथा पम्प्लेट बाँड्नुका साथै भोट हाल्ने तरिका सिकाउने छन् । उनीहरुले गरेको कामलाई अनुगमन गर्न मतदान केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक र गाविस एवम् नगरपालिकाका वडा सचिवलाई खटाइने्छ । सुपरिवेक्षक र मूल्याङ्कनका लागि उनीहरुले काम गर्ने निर्वाचन अधिकारी ढकालले बताए ।
यो अभियान कात्तिक महिनाभरि सञ्चालन गरिनेछ । कात्तिक ५ गते बाट अभियान सुरु गर्ने तयारीमा निर्वाचन कार्यालय रहेको छ । आवश्यक सामग्री तयार गर्ने काम भइरहेको ढकालले बताए ।
मतदाता शिक्षा कार्यक्रम सुरु भएसँगै चुनावी वातावरण अझै बढेर जाने राजनीतिक दलका प्रतिनिधिले बताएका छन् । चितवनको दुई नगरपालिका र ३६ वटा गाउँ विकास समितिमा दुई लाख ७३ हजार ७४० मतदाता छन् । पाँचवटा निर्वाचन क्षेत्र रहेको चितवनमा १४१ मतदानस्थल र ३७८ मतदान केन्द्र रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us