हरियो तरकारीको मूल्य बढेपछि सर्वसाधारण मर्कामा

काठमाण्डु टुडे २०७० असोज ३१ गते २:३२ मा प्रकाशित

वीरगन्ज, ३१ असोज–विगत केही दिनदेखि हरियो तरकारीको मूल्य अत्यधिक रुपमा बढ्न थालेपछि सर्वसाधरणका लागि तरकारी खरिद गर्न अप्ठ्यारो भइरहेको छ ।
दसैँको बिदापछि तरकारीको मागमा आएको वृद्धिसँगै अहिले वीरगन्जमा हरियो तरकारीको मूल्य अकासिएको हो । मागअनुसार आपूर्ति हुन नसकेको र वीरगन्ज वरिपरिका सीमा क्षेत्रमा प्रहरी सक्रियताका कारण सीमावर्ती भारतीय सहर रक्सौलबाट अवैध रुपमा नेपाल भित्रिने तरकारी पनि आउन छाडेपछि हरियो तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको तरकारी तथा फलफूल व्यावसायीहरुले बताएका छन् ।
उत्पादनमा कमी आएपछि मागअनुरुप आपूर्ति नभई महँगोमा तरकारी किन्नु पर्दा मूल्यमा वृद्धि भएको उनीहरुको दाबी छ । विशेषगरी बारा र पर्साका विभिन्न गाविस तथा मकवानपुरको पालुङ लगायतका क्षेत्रबाट उत्पादित हरियो तरकारीसमेत दसैँका कारण बजारमा पु¥याउन नसकिएकाले पनि तरकारीको मूल्य बढेको स्थानीय मीनाबजारका थोक तरकारी बिक्रेता जगत साहले बताए ।
दुईतीन साताअघिसम्म २० देखि २५ रुपैयाँसम्ममा पाइने घिराँैलाको मूल्य अहिले प्रतिकिलो ३५ देखि ४० रुपैयाँ पुगेको छ । रु. ३० देखि ५० सम्म पाउने लौकाको मूल्य ६० देखि ८० रुपैयाँसम्म पुगेको छ । त्यस्तै हरियो करेला, बोडी, सिमी, भिन्डी, परबर र गोलभेँडा जस्ता हरियो तरकारीको खुद्रा मूल्य प्रतिकिलो ६० देखि ९० रुपैयाँसम्म रहेको छ । काउलीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि सय रुपैयाँसम्म रहेको छ । केही दिनमै तरकारीको सहज आपूर्ति हुन थालेपछि मूल्य घट्ने तरकारी तथा फलफूल व्यवसायी सङ्घ वीरगन्जले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us