हुम्लावासीले फर्सि खाएर दसैँ मनाए

काठमाण्डु टुडे २०७० असोज ३० गते १६:३४ मा प्रकाशित

हुम्ला, ३० असोज –तिब्बतबाट भेँडाच्याङ्ग्रा नआएपछि हुम्लावासीले फर्सि खाएर दसैँ मनाएका छन् । प्रत्येक वर्ष तिब्बतको ताक्लाकोटबाट पाँच हजारको हाराहारीमा भेँडाच्याङ्ग्रा ल्याउने गरिएकामा यसपटक त्यस्तो हुन नसकेपछि हुम्ली जनताले भेँडाच्याङ्ग्राको सट्टा स्याउ, आलु र फर्सीको बलि चढाएर दसैँ मनाए ।
तिब्बतबाट भेँडाच्याङ्ग्रा नआएपछि स्थानीय खसी बोकाको मूल्य अत्यधिक रूपमा बढ्न गई सर्वसाधारणले खरिद गर्न नसकेपछि दसैँ फर्सिमै सीमित भएको हो ।
यस पटकको दसैँमा व्यापारीहरूले ३० किलो वजनको एउटा खसीको मूल्य १८ हजारभन्दा बढी मूल्य राखेका थिए ।
ब्राइलर कुखुराको मूल्यसमेत प्रतिकेजी पाँच सय ५० रुपैया भन्दा बढी रहँदा आफूहरूले जीवनमा कहिल्यै नगरेको आलु, स्याउ र फर्सिको बलि चढाउन परेको स्थानीय वृद्ध पाते राउतले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us