संबिधानसभाको अन्तिम निर्वाचनमा परिवर्तनकारी शक्तिलाई बिजयी गराउन प्रचण्डको अपिल

काठमाण्डु टुडे २०७० असोज ३० गते १४:१७ मा प्रकाशित

prachanda_communist_fistकाठमाण्डु ३० असोज–एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुन लागेको संबिधानसभाको अन्तिम निर्वाचनमा नेपालका अल्पसंख्यक र सीमान्तकृत वर्गको पहिचान र अधिकारलाई संस्थागत गर्न परिवर्तनकारी शक्तिलाई बिजयी गराउन पहलकदमी लिन अपिल गरेका छन । मुश्लीम समुदायको महान् चाड ईदुलअजहा (कुर्वानी)को अवसरमा शुभकामना दिदै प्रचण्डले मुस्लिम समुदायको अधिकार र पहिचानका लागि विगतमा आफनो पार्टीले गरेको संघर्षको स्मरण गर्दा आफूहरु गौरवान्वित हुने स्मरण गराएका छन ।
‘मुस्लिमलगायत नेपालका सबै अल्पसंख्यक र सीमान्तकृत वर्ग र समुदायको पक्षमाहाम्रो पार्टीले निरन्तर संघर्ष गर्दै आएको सर्वविदितै छ’प्रचण्डले बुधवार जारी गरेको शुभकामनामा भनिएको छ ‘हाम्रो पार्टी, नेपालका समस्त मुस्लीम समुदायमा हार्दिक मुबारकवाद व्यक्त गर्न चाहन्छ । प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुश्लीम समुदायलाईस्वतन्त्रता र सम्बृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

अध्यक्ष रेग्मी भन्छन–विविधतामा एकता,नेपाली विशेषता,
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले यस वर्षको बकर ईद पर्वले समस्त इस्लाम धर्मावलम्बीहरूको साँस्कृतिक विशेषताको प्रबद्र्धन गर्नुका साथै नेपाली समाजमा विद्यमान सद्भाव, एकता र सुमधुर सम्बन्धलाई जीवन्त राख्दै नेपाली समाजको सकारात्मक रूपान्तरण गरी नेपालको स्थायित्व, शान्ति र विकासको पथमा उन्मुख गराउन सबैलाई अभिप्रेरित गरोस् भनी कामना पनि गरेका छन । Khilraj-Regmi
शुभकामना सन्देशमा रेग्मीले नेपालमा रहेका सम्पूर्ण जाति, धर्म, वर्ण, लिङ्ग, समुदायका मानिसहरू आफ्नो पहिचान र साँस्कृतिक अभ्यासका साथै समाजका अन्य समुदाय र समूहका साँस्कृतिक विशेषताको सम्मान र कदर गर्दै आएका कारण नेपाली समाज आपसी सद्भाव र एकताको सुत्रमा आबद्ध रहेको र यही कारण साँस्कृतिक समृद्धि र सामाजिक सहिष्णुता रहेको नेपाली समाजमा “विविधतामा एकता, नेपाली विशेषता” भन्ने मान्यता जीवन्त रहेको बताएका छन ।
सन्देशमा भनिएको छ – बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो नेपाली समाजको मौलिक चिनारीका रूपमा थुप्रै चाड, पर्व, परम्परा र साँस्कृतिक अभ्यासहरू प्रचलनमा रहेका छन् । धार्मिक सहिंष्णुता, जातीय सह–अस्तित्व र साम्प्रदायिक सु–सम्बन्ध नेपाली समाजमा उदाहरणीय रहेको छ र नेपालमा मनाइने सबै चाड पर्वहरूको आ–आफ्नै विशेष महत्व र साँस्कृतिक मान्यता पनि रहेको छ ।

मुस्लिम तीर्थयात्रीहरुको हज समापन हुँदै

मुस्लिम समुदायका नागरिकहरुको महान पर्व बकर इदका अवसरमा उनीहरुको संस्कारबमोजिम राक्षसलाई ढुङ्गा हानेर बुधबार औपचारिक रुपमा हजको समापन हुँदैछ । बुधबार दोस्रो दिन उक्त औपचारिकताका लागि साउदी अरेबियाको मिना उपत्यकामा रहेको मस्जिदमा लाखौँलाख तीर्थयात्रीहरु जम्मा भएका छन् ।
उनीहरुले बुधबार दोस्रो दिन राक्षसलाई ढुङ्गा हानेर उक्त तीर्थयात्राको औपचारिक समापन गर्दैछन् । उनीहरुको वार्षिक संस्कारका लागि उक्त उपत्यकामा विश्वका करिब १३ लाख तीर्थयात्री जम्मा भएका छन ।
विश्वका करिब एक सय ८८ देशका एक करोड २३ लाख तीर्थयात्रीहरु सो उपत्यकामा जम्मा भएको साउदी अरेबियाको सार्वजनिक तथ्याङ्क कार्यालयले जनाएको छ । तर यो सङ्ख्या गत वर्षको तुलनामा भने तीन लाख १६ हजारले कम हो । गतवर्ष उक्त उपत्यकामा १७ लाख मुस्लिम जम्मा भएका थिए ।
तर यसवर्ष भने उक्त हजयात्राका लागि साउदी  अरेबिया सरकारले कोटा घटाएको बताएको छ । साउदी अरेबियामा मार्स नामको स्वास प्रस्वाससम्बन्धी एक सङ्क्रमणको डरका कारण सो कोटा घटाएको यसअघि नै सरकारले जनाएको थियो ।
हजका क्रममा राक्षसलाई ढुङ्गा हान्ने क्रम एक खतरनाक कामका रुपमा लिइन्छ । उक्त प्रक्रियामा भागदौड हुँदा वर्षेनी सयौँ नागरिकको ज्यान जानेको गरेको छ । तर यसवर्ष भने सो हजयात्रामा नै सहभागिको सङ्ख्या घटेकोले उक्त संस्कारमा नागरिक हताहति नभएको पनि समाचारमा जनाइएको छ । यो संस्कार मुस्लिम समुदायको नागरिकको सबैभन्दा ठूला तीर्थ एवम् पर्वहरुमध्येकै एउटा हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us