
गौशाला, ३० असोज–संविधानसभाको निर्वाचनमा उम्मेदवारका लागि निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन आचारसंहिताको महोत्तरी जिल्लामा व्यापक उल्लङ्घन भइरहेको छ ।
आयोगले उम्मेदवारका लागि शुभकामना आदानप्रदान, भोजभतेर आयोजना, रुपैँया पैसा वितरण, पार्टीको छाप अङ्कित गञ्जी, टोपी, ब्यागको प्रयोगजस्ता कुरामा प्रतिबन्ध लगाएको भएपनि महोत्तरीका धेरैजसो उम्मेदवार तथा पार्टीले ती सबै काम गरेको पाइएको छ ।
मतदातालाई रिझाउनका लागि जिल्लाका ठूलादेखि साना पार्टी, उम्मेदवार र स्वतन्त्र उम्मेदवारसमेतले दसैँ, दीपावली, छठ र इदपर्वका शुभकामना छापिएका शुभकामना पत्र पनि व्यापकरुपमा वितरण गरेका छन भने ठूलाठूला भोजको समेत आयोजना गरेका छन ।
त्यस्तै, एक÷दुई पार्टीका उम्मेदवार तथा उनीहरुका एजेन्टले मतदातालाई पैसासमेत बाँडेका छन् । त्यस्तै एक, दुई पार्टीका छाप अङ्कित गञ्जी पनि प्रयोगमा आएको देखिएको छ ।
जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेमा क्षेत्र नं–३ सबैभन्दा बढी सक्रिय रहेको देखिन्छ ।
जिल्ला सदरमुकाम जलेश्वरमा जताततै शुभकामना पत्र हेर्न सकिन्छ भने वरपरका गाउँमा दिनहुँ भोजभतेर र पैसा बाँड्ने खेल हुने गरेको क्षेत्रवासी बताउँछन् ।
क्षेत्र नं–३ मा पार्टीगत र स्वतन्त्र गरी ४९ जनाले प्रतिस्पर्धा गर्दैछन् भने ६ वटै क्षेत्रमा २५० जनाले प्रतिस्पर्धा गर्दैछन् । रासस