निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाण्डु टुडे २०७० असोज ३० गते १४:०६ मा प्रकाशित

ayodhiसप्तरी, ३० असोज–निर्वाचन आयोगका आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न संविधानसभाको निर्वाचनका लागि मतपत्र छपाइबाहेक सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा बुधवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयुक्त यादवले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले मतपत्र छपाइलाई तीव्रता दिएको बताए ।
आगामी मङ्सिर ४ गतेको संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १ करोड २५ लाख मतपत्र छपाइको काम मंगलवारदेखि सुुरु भइसकेको जानकारी दिँदै आयुक्त यादवले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्रमध्ये ९० लाख मतपत्र छपाइ भइसकेको र ६० लाख मतपत्र अझै छपाइ हुने बताए ।
कुल २४० वटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुटै मतपत्र छपाइको काम सुरु भइसकेकाले छपाइ हुने वित्तिकै ढुवानी थालिने बताउँदै आयुक्त यादवले निर्वाचन आचारसंहिताको आयोगद्वारा मुलुकभरी अनुगमन भइरहेको जानकारी दिए ।
मुलुक निर्वाचनमय बनिसकेकाले निर्वाचनमा सहयोग गर्न नेकपा–माओवादीलगायतका असन्तुष्ट दलसँग आग्रह गर्दैै उनले अब कुनैपनि हालतमा निर्वाचन नरोकिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us