दसैँको शुभकामनासँगै चुनावको कामना

काठमाण्डु टुडे २०७० असोज ३० गते १३:४१ मा प्रकाशित

काठमाण्डु,३० असोज–विजयादशमीको समयमा पनि यसपटक संविधानसभा सदस्य निर्वाचनको विषयको चर्चा हुनुका साथै माहोल कायमै रह्यो ।
दसैँको शुभकामनासँगै राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्षलगायत शीर्ष नेताहरूले संविधानसभाको निर्वाचनको सफलताको कामना गरे । उनीहरुले देशको संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन अपरिहार्य रहेको र यसबाट समावेशी, गणतान्त्रिक र लोकतान्त्रिक सङ्घीय नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा पूरा हुने धारणा व्यक्त गरे ।
प्रमुख दलका शीर्षनेताहरूले दसैँको अवसरमा समेत आ–आफनो निर्वाचन क्षेत्रमा मतदातासँग शुभकामना आदानप्रदानका साथै मतदानमा भागलिन आग्रह गरे । उनीहरुले यसपटक जनतालाई जसरी भएपनि संविधान दिने वचन दिए ।
राष्ट्रपति डा रामवरण यादवले शुभकामना सन्देश दिँदै जनताले आफ्नो संविधान आफैँ लेख्ने अवसरको रुपमा यो संविधानसभाको निर्वाचन हुन गइरहेको छ भने । यस निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गरी आफ्ना आवश्यकता अनुरुपको संविधान निर्माण गरेर विश्व समुदायसमक्ष नेपालीले उदाहरण प्रस्तुत गर्नु परेको राष्ट्रपति डा यादवको धारणा छ ।
उपराष्ट्रपति परमानन्द झाले शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान हामी सबै नेपालीको चाहना र देशको आवश्यकता पनि हो भन्दै सन्देशमा मङ्सिर ४ गते हुन लागेको संविधानसभाको चुनावलाई निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गराउनु हामी सबैको दायित्व हो भनेका छन ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाल र नेपालीको शान्ति र समृद्धिका लागि यतिवेला एकमात्र विकल्पको रुपमा रहेको मङ्सिर ४ गतेको लागि निर्धारित संविधानसभाको निर्वाचनलाई सफल बनाउनु पहिलो प्राथमिकता र लक्ष्य हो भनेका छन । उनले निर्वाचनको सफलतासँगै नेपाली आवश्यकताको संविधान निर्माण गर्ने अवसर प्राप्त भइ नेपालीको शान्ति र विकासको चाहनालाई सुनिश्चित गर्ने अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालीहरूलाई शुभकामना दिँदै निर्वाचनमा उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था कडा पार्न सरकारसँग माग गरेका छन ।
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मताधिकार सदुपयोग गर्नका लागि दुर्गा भवानीले सबैलाई शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै देशमा नयाँ संविधान निर्माण भइ शान्ति, स्थायित्व र समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरे ।
आ–आफनो गृहजिल्लामा पुगेका दलका शीर्षनेताहरू दसैँको शुभकामना आदानप्रदानसँगै चुनावको प्रचारप्रसारका साथै चुनावी रणनीति बनाउन व्यस्त रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us