एमालेको घोषणापत्रमा सात प्रदेशको प्रस्ताव

काठमाण्डु टुडे २०७० असोज ३० गते १३:३५ मा प्रकाशित

काठमाण्डु ३० असोज–नेकपा एमालेले ७ प्रदेश हुनु पर्ने प्रस्ताव सहितको घोषणा पत्र तयार पारेको छ । स्थायी कमिटीको मंगलवारको बैठकले बहुपहिचानमा आधारित ७ प्रदेश हुने प्रस्ताव सहितको घोषणा पत्र तयार पारेको हो ।
विघटित संविधानसभामा प्रदेशको नाम र सिमांकनमा निक्कै विवाद भएपछि एमालेले त्यो जिम्मा यसपटक सम्बन्धित प्रदेशलाई दिने निर्णय गरेको छ । एमालेको नीति, एमालेकै नेतृत्व भन्ने मूल नाराका साथ घोषणा पत्रको मस्यौदा पारित गरेको एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले जानकारी दिए । पाँच भागमा विभाजित एमालेको घोषणा पत्रमा अहिलेको संकटको समाधानका उपाय, विगतमा संविधान सभाले गरेका काम र असफलताका कारण, कार्यतालिका सहितको नयाँ संविधान निर्माणको मार्गचित्र समावेश गरिएको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति तथा आर्थिक स्वरुपमा समाजवाद उन्मूख मिश्रित अर्थतन्त्रको परिकल्पना गरेको ज्ञवालीले जानकारी दिए । संविधानसभामा सहमति हुन नसकेका विषयलाई जनमत संग्रहबाट टुगाउनु पर्ने एमालेको प्रस्ताव छ ।
यस्तै एकीकृत नेकपा माओवादीले कात्तिक १ गते घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । एमाओवादी केन्द्रीय कार्यालयको मंगलवारको बैठकले यस्तो निर्णय गरेको हो । माओवादीले कार्यकारी प्रमुखको रुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गर्ने भएको छ । प्रदेशको संख्याका बारेमा भने अझै छलफल गर्नु पर्ने एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । यस्तै माओवादीले समानुपातिक तर्फका उम्मेदवारको सूची केही संसोधन सहित पारित गरेको छ ।  समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची संसोधन गर्ने दिन बुधवार अन्तिम दिन हो । यस्तै नेपाली कांग्रेसले दशै लगत्तै घोषणा पत्रलाई अन्तिम रुप दिने जनाएको छ । मस्यौदा समितिले घोषणा पत्र तयार पारिसकेको र अव केही दिनमै सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us