कञ्चनपुर, ३० असोज–संविधानसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलले राना थारु समुदायका १९ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् ।
राना थारु सङ्घर्ष समितिका अनुसार निर्वाचन क्षेत्र नं–१ बाट सातजना, निर्वाचन क्षेत्र नं– २ बाट आठजना, निर्वाचन क्षेत्र नं–३ बाट तीनजना र निर्वाचन क्षेत्र नं–४ बाट एकजना राना समुदायका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन क्षेत्र नं–१ बाट तराई मधेस लोकतान्त्रिक पार्टीबाट मनकुमारी राना, नेकपा संयुक्तबाट हरिद्वारा राना, सद्भावना पार्टीबाट लक्षु राना, सङ्घीय सद्भावना पार्टीबाट रामकिसन राना, समाजवादी पार्टीबाट जयन्ती राना, शिवसेना नेपालबाट वीरबहादुर राना, अखण्ड सुदूरपश्चिम पार्टी नेपालबाट छत्र राना र तराई मधेस पार्टीबाट शिवराज राना रहेका छन् ।
निर्वाचन क्षेत्र नं–२ मा सद्भावना पार्टीबाट मालावती राना, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट आसिफ राना, तराई मधेस सद्भावना पार्टीबाट रामअवतार राना, तराई मधेस लोकतान्त्रिक पार्टीबाट पल्टु राना, नेकपा मालेबाट आनन्दी राना, मधेसी समाजवादी पार्टीबाट डिठ्ठा राना, राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रदीप राना र राष्ट्रिय जनमोर्चाबाट खुसिराम राना रहेका छन् ।
निर्वाचन क्षेत्र नं–३ बाट अखण्ड नेपाल पार्टीका मीना राना, तराई मधेस लोकतान्त्रिक पार्टीबाट पे्रमवती राना रहेका छन् । यसैगरी, निर्वाचन क्षेत्र नं–४ बाट मधेसी जनअधिकार लोकतान्त्रिकका भीम राना चुनावी मैदानमा उत्रिएका छन् ।
राना समुदायले चुनावमा उत्रिएका उम्मेदवारलाई भेला गराई पहिचान सुनिश्चतता, सबै तहमा आरक्षणको व्यवस्था, संस्कृति संरक्षणका लागि पहल गर्न माग गरेका छन् ।
राना थारु सङ्घर्ष समितिका अध्यक्ष भोजराज रानाले राना थारु बसोबास रहेको कैलाली र कञ्चनपुर जुन प्रदेशमा परे पनि यसलाई राना थारु उपःस्वायत्त प्रदेश बनाउनका लागि उम्मेदवारलाई आग्रह गरिएको बताए । उम्मेदवारले आफ्ना दलमा यसबारे छलफल गरी निष्कर्षमा पुग्न भनेका छौँ उनले भने “राना समुदायका माग सम्बोधन गर्ने दललाई मात्रै चुनावमा सघाउँछौँ ।”