
काठमाण्डु,३० असोज–बडादसैँको बेला अप्रत्यासितरुपमा भएको तीन दिनसम्मको भारी वर्षाले आजित भएका आम नेपालीले मौसममा आएको सुधारसँगै राहत महसुुस गर्न थालेका छन् ।
बङ्गालको खाडीमा आएको ‘फाइलिन’ आँधीबेहरीको प्रभावका कारण गत आइतबारदेखि मङ्गलबारसम्म लगातार झरी परेपछि दसैँमा कठिनाइ बेहोरेका उनीहरू बुधबार बिहानैबाट मौसममा सुधार भई घाम लाग्न सुरु गरेपछि राहत महसुस गर्न थालेका हुन् ।
तीन दिनसम्म निरन्तर झरी परेपछि देशका पूर्वी, मध्य, पश्चिम र मध्यपश्चिम भेगको जनजीवन प्रभावित भएको थियो । झरीका कारण मान्यजन र आफन्तकहाँ टीका, जमरा र आर्शिवाद थाप्न गन्तव्यसम्म पुग्नका लागि सर्वसाधारणलाई निकै समस्या परेको थियो ।
वर्षाको प्रभाव पूर्वी भेगमा बढी परेपनि उपत्यकामा पनि प्रर्याप्त सवारी आवागमन नचल्दा सर्वसाधारणले सास्ती बेहोर्नु परेको थियो । मङ्गलबारदेखि क्रमिकरुपमा सुधार आएको मौसम बुधवारबाट पूर्वीबाहेकका क्षेत्रमा सफा रहने वरिष्ठ मौसमविद राजेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले भने,“पूर्वी र मध्य भागमा आंशिक बदली हुन्छ, तर पानी पर्दैन, पूर्वी भेगमा बढी बादल लाग्नेछ, पश्चिम र मध्यपश्चिम भेगमा भने मौसम सफा रहेको छ ।”
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार काठमाण्डुको न्यूनतम तापक्रम १८ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस छ । रासस