काठमाण्डु, २९ असोज– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने सविधानसभा निर्वाचनका लागि मंगलबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गरेको छ ।
समानुपातिकको मतपत्र छाप्ने काम सकिएकाले प्रत्यक्षतर्फको छपाइको काम थालिएको आयोग प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । समानुपातिकका लागि झण्डै १ करोड मतपत्र छापिसकिएको छ ।
आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ । जनक शिक्षाले दसैं बिदाको समयमा पनि टीकाको दिनबाहेक अरु दिनमा मतपत्र छाप्ने कामलाई निरन्तरता दिएको थियो । प्रत्यक्ष र समानुपातिक गरी झण्डै ३ करोड मतपत्र छापिने आयोगले जनाएको छ ।
आयोगले समानुपातिक निर्वाचनका लागि रातो र प्रत्यक्षतर्फका लागि नीलो रङका मतपत्र छाप्दै छ । प्रवक्ता राईले २ सय ४० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारअनुसार फरक–फरक मतपत्र छापिने बताए ।