
काठमाण्डु, २९ असोज – नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार भएको जनाएको छ ।
प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले दसैंको बीचमा दुई दिनअघि बसेको स्थायी कमिटी बैठकले समानुपातिक तर्फका ३ सय ३५ जना उम्मेदवारको टुंगो लगाएको जानकारी काठमाण्डु टुडेलाई दिए । ज्ञवालीले समावेशी बनाउन त्यसमा सामान्य हेरफेर गर्न भने सकिने बताए ।
समानुपातिक उम्मेदवारको टुंगो लगाएको एमाले अब चुनावी घोषणापत्र निर्माणमा जुट्ने भएको छ । चुनावी घोषणापत्रको मस्यौदामा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी भएको एमाले नेताहरुले बताएका छन् ।
एमालेले एमालेको नीति एमालेकै नेतृत्व नारा दिएर घोषणापत्र बनाउने तयारी गरेको छ । घोषणापत्रमा उसले विगतमा संविधानसभाबाट संविधान जारी हुन नसक्नुको कारणबारे समीक्षा गर्दै बहुपहिचानसहितको संघीयतालाई चुनावी एजेण्डा बनाउने भएको छ ।