
काठमाण्डु, २९ असोज -विजया दशमीको भोलिपल्ट आज पनि देशका विभिन्न स्थानमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशिर्वाद थाप्ने क्रम जारी छ ।
खास गरी नेपालका मध्य तथा पूर्वी भेगमा कोजाग्रत पूर्णिमाका दिनसम्म दसैंको टीका र जमरा लगाउने चलन छ । तर केही दिनयता जारी वर्षातका कारण गत वर्षहरुको तुलनामा यो वर्ष टीका लगाउन जानेहरुको चहलहल कम छ ।
बंगालको खाडीका आएको आँधीको प्रभावस्वरुप नेपालका अधिकांश भूभागमा आइतबारदेखि लगातार वर्षात भइरहेको छ । वर्षातको क्रम अझै केही दिन जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच दशैं मान्न उपत्यकाबाट बाहिरिएकाहरु मंगलबारबाट फर्कन सुरु गरेका छन् । दसैं मान्न ३२ लाखभन्दा बढी मानिस सार्वजनिक यातायातका साधनबाट मात्र राजधानीबाहिर गएको यातायात व्यवसायीले जनाएका छन् ।