माइक्रो बस दुर्घटनामा बेपत्ता भएका ११ को खोजी जारी

काठमाण्डु टुडे २०७० असोज २९ गते ४:२७ मा प्रकाशित

चितवन, २९ असोज– पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोकबाट माइक्रोबस त्रिशूलीमा खस्दा बेपत्ता भएका ११ जनाको अवस्था अझै अज्ञात छ ।
बेपत्ताको खोजीकार्य मंगलबार बिहानेदेखि जारी छ ।

खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । वर्षातका कारण नदीमा पानीको बहाव उच्च भएकाले खोजीकार्य प्रभावित भएको छ । नारायणघाटबाट काठमाण्डुका लागि छुटेको दसैंको टीका लगाउन हिंडेका यात्रु सवार बा २ ख २५९८ नम्बरको माइक्रो बस सोमबार साँझ मुग्लिन र कुरिनटारको बीचमा पर्ने पृथ्वीराजमार्गको फिस्लिङबाट त्रिशूलीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ललितपुरकी २२ वर्षीया निशा पौडेल र अस्ट्रेलियन नागरिक ३२ वर्षीया कि निक मारिया रहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जनाकारी दिए । मृतक दुई जनाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ९ जनाको प्रहरीले जीवितै उद्धार  गरेको उनले बताए । टिकट नकाटी बस चढेकाले हराइरहेका यात्रुको संख्या यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले नदीमा खसेको माइक्रोबससमेत फेला पार्न नसकिएकाले केही यात्रु गाडीभित्रै हुनसक्ने आशङका गरेको छ । तीव्र गतिका कारण माइक्रो दुर्घटना भएको अुनसक्ने अनुमान प्रहरीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us